जुम्लामा चाडपर्वलक्षित `सहुलियत छुट मूल्य पसल´ सञ्चालन हुँदै

जुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले विभिन्न चाडपर्वलाई लक्षित गरेर `पर्वाेत्सव सहुलियत छुट मूल्य पसल´ सञ्चालन गर्ने भएकाे छ । नेपालीहरूकाे महान चाड विजया दशमी तथा दिपावली र छठ पर्वकाे अवसरमा शाखा जुम्लाबाट सहुलियत छुट मूल्य पसल सञ्चालन निर्देशन २०८० अनुसार `पर्वाेत्सव सहुलियत छुट मूल्य पसल´ सञ्चालन गर्न लागेकाे हाे ।

कार्यालयका अनुसार उक्त पसल असाेज २१ गतेदेखि सञ्चालन हुनेछ । छुट मूल्यसहितकाे सहुलियत पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख निर्माण बिष्टले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा साविककाे मूल्यमा प्रति के.जि.७ रूपैयाँसम्म छुट पाइनेछ ।

यस्तै सार्वजनिक विदाकाे दिन बाहेक ताेकिएकाे स्थानीय निकायलाई छुट्टयाइएको समय ( बार तथा दिन )अनुसार बिक्रीवितरण हुने बिष्टकाे भनाइ छ । साैलियत पसलमा ६ प्रकारका चामल बिक्रीवितरण हुनेछ । अहिले स्टिम जिरा मसिनाे चामलकाे बिक्री मूल्य प्रति केजी ९२ रूपैयाँ रहेकाे छ ।

प्रति केजी ७ रूपैयाँमा छुट दिदा  छुटपछिकाे बिक्री मूल्य प्रति केजी ८५ रूपैयाँ पर्नेछ । प्रति बाेराकाे मूल्य २ हजार १ सय ५५ रूपैयाँ पर्नेछ । अरूवा माेटा चामल प्रति बाेरा १ हजार १ सय ७५,अरूवा साेना मन्सुली चामल अरूवा मध्यम चामलकाे प्रति बाेरा  समान १ हजार दुई सय ७५ रूपैयाँ पर्नेछ ।
स्थानीय निकायलाई बार र दिन अनुसार वितरण
यसैगरी जिल्लामा रहेका पालिकाकाे लागि समय छुट्याएको छ । जिल्ला खाद्य व्यवस्था समितिकाे असाेज १८ गते बसेकाे निर्णयले सेवाग्राहीकाे चापलाई मध्यनजर गर्दै  पालिकाहरूलाई निश्चित समय ताेकेर खाद्यान्न खरिद्काे व्यवस्था मिलाउने निर्णय गरिएकाे छ ।

  खरिद्का लागि खरिद्कर्ताले नेपाली परिचय खुल्ने नागरिकता,राष्ट्रिय परिचय पत्र र मतदाताकाे परिचय पत्रकाे सक्कल आवश्यक पर्ने बताइएकाे छ ।
जुम्लामा चाडपर्वकाे लागि प्रयाप्त चामल

अहिले गोदाममा दसैंका लागि १ हजार २ सय, जिल्ला कारागार जुम्लाको लागि २ सय ८० र जन्म मृत्युका लागि १ सय ५० क्विन्टल चामल मौज्दात राखिएको छ ।जुम्लाको वार्षिक कोटा ५ हजार ५ सय क्विन्टल हो । हालसम्म १ हजार ३ सय २० क्विन्टल चामल आइसकेको छ । ४ हजार १ सय ८० क्विन्टल चामल आउन बाँकी छ ।

यो जुम्लामा बर्सेनि आउने चामलको कोटा नभएको कार्यालयले जनाएको छ । जुम्ला शाखालाई मात्र वार्षिक रुपमा न्युनतम १५ हजार क्विन्टल चामल आवश्यक पर्छ । तर कोटा अनुसारको चामल ल्याउन निकै कठिन हुने गरेको दुखेसो खाद्य व्यवस्था कार्यालयको छ ।

चामल वितरणको लागि कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाको लागि धापामा कम्पनीको डिपो छ । जहाँ वार्षिक एक हजार कोटा चामल आउने गर्छ । तर अहिलेसम्म कोटाको चामल पुगेको छैन ।