दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिँदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था भने गम्भीर रहेको छ । बिहीवार बिहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका -७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।
क्षमताभन्दा बढी विद्यार्थी बोक्दा डुङ्गा पल्टिएको स्थानीयको भनाइ छ । पटेला पल्टिँदा लमही नगरपालिका -९ तरुलिया निवासी मा.वि सिक्टा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनीष विक, १२ वर्षीय रिमा रामिजाल, कक्षा ९ मा अध्यनरत १६ वर्षीय संदीप विक गम्भीर घाइते भएका छन् ।
अन्य विद्यार्थीको अवस्था सामान्य रहेको माध्यमिक विद्यालय सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीले जानकारी दिए । घाइते विद्यार्थी मा.वि सिक्टामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । डुङ्गा राजपुर गाउँपालिका ७ राताकाँस निवासी दिनाराम विकले राप्ती नदीमा सञ्चालन गर्दै आइरहनुभएकाे थियो । डुङ्गा पल्टेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।
जुम्ला दर्पण । २ भाद्र २०७९, बिहीबार २१:१४