शुभाकर विश्वकर्मा,जुम्ला
श्रृष्टि कार्की १४ वर्षकी भइन् । उनी किशाेरी हुन् । हिम शिखर माविमा पढ्छिन् । श्रृष्टि विद्यार्थी पनि हुन् । कक्षा आठमा पढ्छिन् । उनी ग्रामीण गाउँमा जन्मिइन्, हुकर्किइन्,पढिन् ।
तातोपानी-२ लिताकाेटकी कार्कीकाे अर्काे परिचय पनि छ-उनी घाेडा चढ्छिन् । उनले घाेडा चढ्न थालेकाे एक वर्ष भयाे । आफ्ना बाजेकाे प्रेरणामा घाेडा चढ्न सुरू गरेकी उनी शनिबार खलंगामा प्रकट भइन् ।
त्याे पनि जिल्ला स्तरीय घाेडा दाैड प्रतियोगितामा । जुम्लामा लामाे समयदेखि हरेक वर्ष फुलपातीका दिन घाेडा दाैड प्रतियोगिता हुने गर्दछ । उक्त प्रतियोगिताकी एक्ली महिला(किशाेरी ) सहभागी थिइन् । प्रतियोगितामा २८ जना प्रतियाेगी थिए ।
। अघिल्ला वर्षमा कम उमेरका प्रतिस्पर्धी चर्चामा हुने गरेकोमा यो पटक सबैको चर्चाको केन्द्रमा श्रृष्टी परेकी थिइन् । उनलाई हाैसला दिनेदेखि फाेटाे खिच्नेहरूकाे घुँइचाे नै देखिन्याे ।
श्रृष्टिले प्रतियोगिताकाे पहिलाे चरण पार गरिन् । दाेस्राे चरणबाट भने उनी बाहिरिइन् । उनले चढेकाे घाेडाका कारण श्रृष्टि अघि बढ्न सकिनन् । उपाधि त जित्न सकिनन् । तर,उनको घोडा कदम र चालमा उत्कृष्ट बन्यो ।
उनलाई धेरै हाैसला मिल्याे । दाैड हेर्न राझासिम पुगेका हरेकले उनकाे साहसकाे खुलेर प्रशंसा गरे । हिम्मतकाे तारिफ गरे । सबैकाे हाैसलाकै कारण उनकाे मुहारमा हर्षकाे भाव प्रष्टै झल्किन्थ्याे ।
उपाधि जित्नेकाे भन्दापनि बढि चर्चा उनकाे भयाे । घाेडा चढ्ने मामिलामा उनी पनि निकै आत्मविश्वासी देखिइन् । वास्तवमा उनकाे आँट सबैकाे लागि अनाैठाे विषय थियाे । पुरूषले मात्र घाेडा चढ्न सकछन् ।
महिलाहरूले पनि घाेडा चढ्छन् भन्ने पुष्टि गरेर देखाइन् । दर्जनाै पुरूषसँग प्रतिष्पर्धा गर्ने आँट राख्नु सामान्य कुरा थिएन । प्रतियोगितामा आफ्नाे आत्मविश्वास खुलेर देखाइन् । घाेडा चढ्नु पनि एउटा कला हाे ।
घाेडा चढ्ने उनकाे कलापनि पाेखियाे । जुम्लादर्पणसँगकाे कुराकानीमा उनले आफूलाई घाेडा चढ्न कुनै डर नलाग्ने खुलाइन् । श्रृष्टिका अनुसार घाेडा दाैडमा सहभागीता महिला शसक्तिकरणका लागि हाे । महिलापनि घाेडा चढ्न सक्छन् भन्ने सन्देश दिनुपनि हाे ।
`घाेडा चढ्न थालकाे एक वर्ष भयाे । पहिला अलिअलि डर लाग्थ्यो । पछि विस्तारै आत्मविश्वास बढ्दै गयाे, ´उनले भनिन्,`यसरी बजारमा पहिलोपटक आएकाे हाे । पहिलो प्रतियोगिता हाे ।´
श्रृष्टिसँग उनका बाजेपनि प्रतियोगितामा आएका थिए । उनले नातिनीले एक वर्षदेखि घाेडा चढ्न थालेकाे बताए । ऊ आत्मविश्वासी छ । आँटिली छ ।`आफैले रहर गरी । घाेडा चढ्छु भनि । पछि आफै सिकेकी हाे । नातिनीसँगै आज यहाँ आएकाे छु´, उनले भने ।
राधिका रावत : जसले पहिलोपटक घाेडा दाैडमा भाग लिइन्
ताताेपानी-६ की ४१ वर्षीया राधिका रावतले जुम्लामा २०५७ सालमा पहिलोपटक महिलाले घाेडा दाैडमा भाग लिएकी थिइन् । त्याे भन्दा अघि कुनैपनि महिलाले त्यसरी घाेडा दाैडमा भाग लिएका थिएनन् ।
त्यतिबेला विमानस्थलमा घाेडा दाैड हुन्थ्याे । तर,२०५८ पछि भने विमानस्थल कालाेपत्रे भएका कारण घाैडा दाैड हुनै छाेड्याे। रावतले दाईकाे प्रेरणामा घाेड दाैडमा भाग लिएकी थिइन् ।त्यतिबेला उनी केवल १३ वर्षकी थिइन् । कक्षा ५ मा पढ्थिन् ।
` मेराे घरमा आफ्नै घाेडा थियाे । दाईले भनेपछि तयार भए ।घाेडा चढ्न भने पहिलेदेखि नै सुरू गरेकी थिए ,´ उनी भन्छिन् । परिवारकाे साथ भएपनि गाउँलेहरूले कुरा काटेकाे उनी सम्झिन्छिन् ।
उनले स्वयम् महिलाहरूकै विराेध खेप्नुपर्याे । विमानस्थल कालाेपत्रे भएपछि भने दाैडमा भाग नलिएकाे उनले बताइन् । पछिल्लो समय घाेडा दाैड प्रतियोगिता सुरू भएकाेमा खुसी छन् । उसाे त उनका बुबा जरसिंह रावतपनि नियमित रूपमा घाेडा चढ्थे । घाेडाका साैखिन थिए ।
तत्कालीन जनप्रतिनिधि समेत रहेका उनी वडा कार्यालय जाँदापनि घाेडा मै चढेर जान्थे ।पहिला जिल्ला पञ्चायत र पछि जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने गरेको थियो । जिल्लाका सबै सरकारी कार्यालयका घोडा हुन्थे । हाकिम र बडाहाकिमहरू त्यसैमा सवार हुन्थे । अहिले घाेडा लोप हुने अवस्थामा छ ।
घोडा दौड गरेर जुम्ली घोडाको संरक्षण थालिएको छ ।जुम्लामा घाेडा दाैड परम्पराकाे रूपमा रहेकाे छ ।`संस्कृति संरक्षण र पर्यटन प्रवर्धन´का लागि घाेडा दाैड हुने गरेकाे छ । पहिला सरकारी तवरबाट घोडा दौड प्रतियोगिता हुन्थ्यो । अहिले भने निजि स्तरबाट घोडा संरक्षणका लागि प्रतियोगिता हुने गरेकाे छ ।
जुम्ला दर्पण । ८ कार्तिक २०८०, बुधबार २२:०३