गरिब देशका कम्युनिस्ट नेता, जसकाे घरमा सुनकाे हाति

रेशम अनुराग

कम्युनिज्म—यो शब्द सुन्नासाथ सामान्य जनताका आँखामा एउटा सपना झल्किन्छ। सबै बराबरी हुने, कसैले भोकै नबस्ने, खेत जोतेको पसिना मालिकलाई होइन, कामदारलाई पुग्ने। यही आदर्शकाे गीत गाउँदै, रातभर जनताको चोक–चौतारोमा नाराबाजी गर्दै, युवापुस्ताले क्रान्ति गरेको देश आज ‘कम्युनिस्ट’ नेताहरूको स्वर्ग बनेको छ। तर यो स्वर्ग केवल नेताहरूका महलभित्र मात्र सीमित छ, जनता भने अझै पनि परदेशको पसिना बेचेर, भोकै पेटले, चिसाे भुइँमा निदाउन बाध्य छन्।

सुनकाे हाति र जनताको खाली भाँडो

कम्युनिस्ट नेताहरूका घरभित्र सुनकाे हाति हुन्छ—तर त्यही सुनकाे हाति एउटा प्रतीक हो। त्यो केवल मूर्ति वा सजावटी सामान होइन, त्यो त नेताहरूकाे ढोंगको पहिचान हो। एउटा तर्फ “समानता, न्याय, क्रान्ति” को भाषण, अर्को तर्फ सुनले बनेको हाति।
जनताको घरमा भने भाँडामा आलु पनि पक्दैन, बच्चाले दूध माग्छ तर आमाको आँसु मात्र पाइन्छ। नेता भने छातीमा क्रान्तिको नारा टाँस्छ, तर पेटमा विदेशी वाइन हाल्छ।

गरिब देश, धनी नेता

देश गरीब छ भन्ने कुरा नेताहरूले प्रत्येक भाषणमा सुनिन्छ । तर गरिबीका आँकडा सुन्दै गर्दा, तिनकै घरमा करोडौंको महल ठडिएको देखिन्छ। जनता गाउँमा बिजुली नपाएर अँध्यारोमा सुतिरहेका छन्, नेताको कोठा भने विदेशी बत्तीको झिलिमिलीले उज्यालो हुन्छ।
जनताको छोराछोरीले स्कुल जान सडक हिँड्नुपर्छ, उलिदाे कर्णालीनदि माथि तुईन तर्नुपर्छ स्वास्थ्य उपचार नपाई विच बााटाेमा प्रसव पिडाले उच्च रक्तसरावले ज्यान गुमाउनु पर्छ नेताका छोराछोरी हेलिकप्टरबाट कलेज पुग्छन्। जनताले औषधि नपाएर ज्यान गुमाउँछन्, नेताले विदेशमा लाखौं खर्च गरेर ‘हेल्थ चेकअप’ गराउँछन्।

नारा र वास्तविकता

जनताको दु:ख–पीडामाथि उठेको यो सुनको हाति केवल एउटा मूर्ति मात्र होइन—यो जनतालाई दिएको ठट्टा हो। “श्रमिक वर्गकै शासन हुन्छ” भनेर हरेक चुनावमा ठग्ने, “गरिबको घरमा चुल्हो बल्छ” भनेर भाषण गर्ने, तर अन्ततः आफैंको घरमा मात्र सुनको झिल्को देखाउने।
जनतालाई झुक्याउने भाषण कला यति परिपक्व बनेको छ कि, नेता महलभित्र महोत्सव मनाउँछन्, जनता चोकमा आँसु बगाउँछन्। याे कहालीलाग्दो अवस्था नेपालि अपिरहनु पर्ने कहिले सम्म ?

इतिहासको चेतावनी

इतिहासमा धेरै साम्राज्यहरू सुनकै विलासिता, मूर्तिकाे सौख र जनतालाई बेवास्ता गर्ने प्रवृत्तिका कारण पतन भएका छन्। रोमका शासकदेखि मुगल बादशाहसम्म, सुनका महलमा रमाउने धेरै शासकहरूको अन्तिम कहालीलाग्दो थियो। हाम्रो देशका कम्युनिस्ट नेताहरू पनि त्यही बाटोमा हिँडिरहेका छन्। जनताका आँसु कहिलेसम्म दबाउने? खाली पेट कहिलेसम्म बिर्साउने?

 

सुनकाे हाति हेर्ने जोश नेतामा छ, तर जनता भने पेट भर्ने संघर्षमा छन्। यही हो हाम्रो गरिब देशको विडम्बना। कम्युनिस्ट नेता भन्ने नाममा सामन्ती जीवन बाँच्ने, विदेशी विलासितामा रमाउने, र जनता भने अझै पनि चुलोमा धुँवा देखाउने संघर्षमा अल्झिएका।

जब नेताकाे घरमा सुनकाे हाति हुन्छ, जनताको घरमा भने चुलो नबल्ने पीडा मात्र हुन्छ। यही हो हाम्रो गरिब देशको असली चित्र।