जुम्ला : तिला गाउँपालिकामा रहेका सम्पूर्ण स्वास्थ्य स्थामा स्वास्थ्यकर्मी नबस्ने गरेकाे पाइएकाे छ । पालिकामा रहेका १३ वटा स्वास्थ्य संस्थामा उनीहरू नबस्ने गरेकाे पाइएकाे छ । स्वास्थ्य संस्था स्वास्थ्यकर्मी विहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
अहिले त्यहाँका अधिकांश स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाइ रित्तै छन् । स्वास्थ्यकमर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएकाे गुनासाे बढेपछि गाउँपालिकाले अनुगमन गरेकाे थियाे । उपाध्यक्ष कल्पना बुढाकाे नेतृत्वमा गरिएकाे अनुगमनकाे क्रममा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने गरेकाे पाइएकाे थियाे ।
गाउँपालिकाकाे वडा नम्बर २,३ र ४ मा स्वास्थ्य चाैकीमा अनुगमन गर्दा अधिकांश स्वास्थ्य संस्था रित्तै भएकाे पाइएकाे उपाध्यक्ष बुढाले बताइन् । उनका अनुसार कुडारी स्वास्थ्य चाैकीमा कार्यालय सहयोगी र अहेव मात्रै थिए । स्वास्थ्य चाैकी इन्चार्जसहित अधिकांश स्वास्थ्यकर्मी कार्यालयमा अनुपस्थित थिए । यस्तै रावतबाडा आधारभुत स्वास्थ्य चाैकीमा पनि एक जना अनमी मात्रै उपस्थित थिइन् ।
त्यहाँ चार जनाकाे दरबन्दी रहेकाे छ । यस्तै रारालिही स्वास्थ्य चाैकीमा समेत स्वास्थ्यकर्मीकाे खडेरी नै देखियाे । त्यहाँ त झन एक जना मात्रै कर्मचारी थिए । रारालिहीमा आठजनाकाे दरबन्दी छ । अनुगमन गरिएका मात्रै हाेइन अन्य स्वास्थ्य संस्थामासमेत स्वास्थ्यकर्मी नभएकाे पाइएकाे छ ।
`व्यापक गुनासाे बढेपछि हामीले अनुगमन गरेका थियौँ । स्वास्थ्यकर्मीहरू स्वास्थ्य संस्था नबस्ने गरेकाे पाइयाे,´उनले भनिन्,` उहाँहरू किन र केका लागि विदा हुनुहुन्छ ।केही पनि जानकारी छैन । अब उहाँहरूकाे विषयमा उपयुुक्त निर्णय लिन्छाै ।´
स्वास्थ्य शाखा भन्छ : हामीलाई कुनैे जानकारी छैन
तिलामा जम्मा १३ स्वास्थ्य संस्था रहेका छन् । पाँच वटा स्वास्थ्य चाैकी,चार वटा आधारभुत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई छन् । पालिका स्तरीय स्वास्थ्य शाखाका प्रमुख हर्क रावत स्वास्थ्यकर्मी के कति कारणले अनुपस्थित भए भन्नेबारेमा शाखामा कुनै जानकारी नरहेको बताउँछन् ।
उनीहरू विदा बसेकाे विषयमा जानकारी नभएकाे उनकाे भनाइ छ । शाखामा कुनै जानकारी छैन । सम्बन्धित ईन्चाजलाई जानकारी छ कि छैन हामी बुझ्दैछाै, रावतले भने,` स्वास्थ्य संस्थामा यस्ताे हुनु राम्राे कुरा हाेइन । गम्भीर लापरबाही हाे । ´
विदामा बसेका कर्मचारीहरूले ईन्चार्जसँग अनुमतिबाट विदा लिएका छन् कि छैनन् बुझ्दैछाै । अनुगमतकाे क्रममा स्वास्थ्य चाैकी,स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईका इन्चार्ज अनुपस्थित रहेकाे पाइएकाे छ ।
यस्तै उनले तिलाका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दी नभएकाे उनले बताए । गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेकाे छ ।
जुम्ला दर्पण । १ माघ २०८०, सोमबार ११:२७