आज बर्षौपछि घरका भित्ताहरु सँग गफिने मौका पाएको छु । यी तिनै भित्ता हुन जुनु बर्षौ पहिले मेरा बाको सपनाको घरका टाला बनेर आएका थिए।
म सम्झिन्छु देश गृहयुद्धको चपेटामा थियो । बुबाले आफू बाचु या नबाचु मेरो सन्तान बाच्नुपर्छ भनि कोषौ टाढाको भुमरीमा आफन्त सबै गाउँ मै छोडेर आको । म सम्झिन्छु ती रातहरु जुन रात आकाशको गर्जन भन्दा बढी गोलिका गर्जनले सुत्न दिन्थेन मेरा बा लाई ।
म सम्झिन्छु कति कति पटक मेरा बाको कंचटमा बन्दुकको नाल त्यर्सेको । आज घरको लाज छोप्न उभिएका टालाहरुलाई हेर्दा मेरो आँखा अघि पुरै विगत झ-झल्किन्छ ।
करेसाबारीमा सकिनसकी काम गरिरहेकी आमाको खोकिले मेरो ध्यान उनी तिर तान्छ। आँखा कोल्टे पारेर एक चोटि आमा तिर हेर्छु । आमामा केही परिवर्तन आएको महशुस हुँदैन मलाई । उही लाग्छ आज पनि ।
सोच्छु फाटेका कपडामा सजिएकी मेरि आमाको मन कति चोटि फाटेको होला ? मेरि आमाले अहिले सम्म गुनासो गरेको देखेको छैन मैले। हरेक चोटि मेरो बुबाको ठाडो आदेश केही नभनी पालना गर्नु हुन्छ ।
गाउँ छोड्दा एक सन्दूक सामान भरेर आएको सम्झना छ मलाई तर यो सन्दूकमा के छ भनी खोलेर हेर्ने हिम्मत गरिन मैले। आमा भने प्रत्येक दिन जसो खोलेर हेर्नू हुन्थ्यो । आँखा बाट केही थोपा आँसु खसाउनु हुन्थ्यो ।
म सम्झिन्थेँ यो सन्दूकको केही हुल सामानमा आमाको पनि केही हुल कथा होला । मैले सोध्ने आँट पनि गरिन । मलाई लाग्थ्यो आमाको आँशुले प्रत्येक दिन जसो गाउँलाई सम्झिन्थे।
आमा भन्नू हुन्थ्यो मेरो गाउँ स्वर्ग भन्दा कम्तिको छैन रे । दैनिक जसो मेरि आमाको सम्झनामा मेरो गाउँ आउँथ्यो । आमा सम्झिनु हुन्थ्यो होला धमिनी बज्यैले बोलाएको, आमा सम्झिनु हुन्थ्यो होला दौँतरी सँग मेलापात गरेको, आमा सम्झिनु हुन्थ्यो होला त्यो गोठ, त्यो भिर, त्यो पाखा । आमा सम्झिनु हुन्थ्यो होला कालापडामा ठाडी भाका सुसेल्दै घाँस काटेको ।
मेरि आमाले जिवनको दुई दशक कालापडामा बिताउनु भएको थियो । मेरा बा र आमाको नौ बर्षको कलिलो उमेरमा बिवाह भएको थियो ।
बा आफ्नै कामले धेरै जसो सदरमुकाम मै बस्नु हुन्थ्यो । मेरि आमाको सुखदुःखको साथी नै कालापडा थियो । अरुले कालापडाको टुप्पोबाट फेदीमा हेर्दा नि हर कोहिको मुटु काम्थ्यो तर मेरि आमा भने नपुगेको कुनै ठाउँ थिएन ।
मेरि आमाले कालापडाको प्रत्येक अङ्ग छुनु भएको थियो । खेल्नुभएको थियो ती अङ्गहरु सँग दिन अनि अबेर रात सम्म पनि ।
मेरि आमा जस्ता कति कति आमालाई त कालापडाले घुट्क्क निलिसकेको थियो तर मेरि आमालाइ ठेस पनि लगाएको थिएन । सायद हुन सक्छ कालापडाको पनि मन मिल्ने साथी थिइन होलि मेरि आमा।
त्यसैले त होला एक्लै बसि अबेरसम्म आँखा बाट आँसु खसाल्दा बाबियाका पातले मेरि आमाको ढाड सुमसुमाउथ्यो । आँसु पुछी दिन्थ्यो रयाजका पातहरुले अनि काउकुती लगाउँथ्यो आफ्ना पिठ्युँमा बोकेका ढुङ्गाले र त आमा बास खोला पुग्ने आवाजमा खितखिताउनु हुन्थ्यो।
कालापडा मेरो गाउँ देखि तीन कोश टाढा छ । मेरि आमाको लागि भने करेसा वारि भन्दा कम थिएन । बिहानि सुर्य भन्दा अघि जानू हुन्थ्यो अनि राती जुनको उज्यालोमा पिठ्युँमा सकि नसकी घासका घोचा ठेल्नुहुन्थ्यो अनि घर सम्म लतारिनु हुन्थ्यो ।
अहिले म सोच्छु मेरि आमालाई थकाइ लाग्दैन थ्यो कि थाकेर नि देखाउन सक्नु हुदैन थ्यो । मेरि आमाले थाकेको जीउ बिसाएको कहिल्यै देखेको थिएन मैले।
राती अबेर सम्म गोठ भरी भरिएका बस्तुभाउ लाई घाँस हाल्नु हुन्थ्यो अनि फेरि लाग्नु हुन्थ्यो चुलो चौको तिर ।
हजुरबुवाले मेरि आमालाई मेलापात गर्ने भनेर नै मेरा बा सँग बिहे गरि दिएको रे । त्यसैले त मेरि आमालाई कसैले सोधेन तलाई कति थकाई लाको छ भनी, त्यसैले त कसैले सोधेन मेरि आमालाईरातको अध्यारोसम्म त्यो भिरमा तलाई कति डर लाग्छ भनेर ।
मेरि आमाले पनि भनिन् उखुम्मै डर लाग्छ भनी सायद सोध्ने मान्छे नभए पनि होला । सायद बुझ्ने मान्छे नभएर पनि होला।
मेरि आमाले आफू खुशी हुदा त्यही कालापडालाई सुनाइन, आफू दुखी हुँदा पनि त्यही कालापडालाई सुनाईन । र त सबैभन्दा बढी आँसु अनि हाँसो कालापडाले नै देखेको छ मेरि आमाको ।
मेरि आमाको मुस्कान सँग परिचित उ, मेरि आमाको आँशुले भिजेको छ उ । बिरामि हुँदा अबेरसम्म घाँसको बोझाको सिरानी बनाई कति रात त्यही कालापडामा पनि बिताउनु भएको छ मेरि आमाले । डर लागेन पनि होला आमालाई आफ्नो साथिको काखमा निर्धक्क सँग निदाउन ।
आज पनि गन्तव्य बिर्सेर आएको कोहि बटुवाले ठाडी भाका सुसेल्दै कालापडाको शिरबाट यात्रा गर्यो भने पनि कालापडाले मेरि आमालाइ सम्झिन्छ ।
कहिले काहीँ एकान्तमा म कालापडालाई काल्पनिक संसारमा स्मरण गर्न खोज्दा सोच्छु मेरि आमाको जवानीको आधा उमेर संग संगत गरेको कलापडाको जवानिको सारथि को थियो होला? मेरि आमाका जस्तै केही रहर अनि इच्छा उसका पनि त मरे होलान ।
कहिलेकाहीँ पर गडिबाट शंखको धुनसङै काधमा सजिएर आएको लास देख्दा कालापडाको पनि आँखाबाट केहि थोपा आँसु खस्छ ।
यो सब सालमेलाबाट हिड्ने हरकोहीले महसुस गर्न सक्छ । कतै खानेपानीको पाइप फुटे झै पानीका दुई धर्सा सालमेला तिर बग्छन अनि शरीरका केही अङ्गमा स्पर्श गर्छन् र पातलमा विलीन हुन्छन् ।
मेरि आमाले मेरा गाउलेलाई कालापडा संग राम्ररी परिचीत गराएकी छिन । हरेक दिन जसो नयाँ मान्छेको कुरा गरेर बस्छिन मेरि आमा र त कोहि मेरो गाउँको मान्छे मर्दा कालापडाले पनि मेरि आमा सङै आँसु बगाएको हुन्छ । आमा कै जति खिन्नता महसुस गरेको हुन्छ ।
मलाई सम्झना छ दिपेन्द्र बाजे, लच्छु काका मेरि आमा सङै दशैमा पिङ हाल्ने बाबियो खोज्न कालापडा उल्किनुहुन्थ्यो । कहिले काहीँ म पनि पछि पछि लागेर जान्थ्ये ।
धेरै तल आमा जनुहुन्थ्यो अनि अलि माथी बाजे र काकाले केही मुठी बाबियो काट्नु हुन्थ्यो तर मलाई भने जोगिथाला मै बस्न भन्नू हुन्थ्यो । म कतै भिडमा आउछु कि भन्ने डरले हो या म एक्लै डराउछु भनेर हो आमा बेला बेलामा निरन निरन भनी बोलाइ रहन्थिन ।
मेरि आमाले कालापडालाइ निरन नाम संग छोराको रुपमा परिचीत गराएकी छिन ।
जब केही अङ्गालो बाबियो बोकेर काका र बाजे आउनु हुन्थ्यो उहालाइ स्वागत गर्न गाउलेहरू दमाह अनि पन्चेबाजा सहित बासखोला सम्म आउनु हुन्थ्यो ।
जिउ कमाउदै आएका धामी बाजेले एक मुठ्ठी बाबियो पृती माइलाइ चडाउनु हुन्थ्यो। अनि गाउँले सबै मिलेर लडा बाट्न थाल्थ्य ।
केटाकेटीलाई पिङ खेल्ने अनुमति त थिएन तर नि अरुले खेलेको हेरेर रमाइलो लाग्थ्यो । आरुले हुइकिदै पिपलको पात टिपेको हेर्न रमाइलो हुन्थ्यो ।
गाउलेहरूले मिलेर बनाएका लडाका दुबै छेउ त्यर्सो परेको पिपलको हाङ्गमा कसिलो गरि बान्थ्ये अनि पुजा गरि सबै भन्दा पहिले नायक ठुलाबाले खेलेर पछि गाउका तन्नेरी कराउदै कालापडा पुग्ने आवाजमा “चचर हुइ” गर्दै मच्चिन्थ्य ।
कलापडा पनि मख्खै हुन्थ्यो आफ्ना पिठ्युँमा उम्ररिएको झुसलाइ जोडेर रमाउदै छन भनी । कालापडा मै घाँस काटिरहेकी मेरि आमालाई चाहिँ केही मत्लब हुदैनथ्यो ।
आमाको मनमा खेलिरहेको हुन्थ्यो आज दुई मुजा घाँस बढी काट्नु छ, बिहाना लाई पुग्ने गरि । मन भोलि गाउँमा हुने रत्यौरीमा रमाइरहेको हुन्थ्यो र त छिटो छिटो आसि चलिरहेको हुन्थ्यो ।
आमा सुनाउनु हुन्छ आजभोलि विकासको नाममा मेरि आमाको साथिको पेट चिरिएको कुरा । भकानिनु हुन्छ हाम्रो आघी अनि खसाल्नु हुन्छ केही थोपा आँसु आफ्नो साथिलाइ सम्झेर ।
भन्नू हुन्छ आजभोलि त बाटो आएको छ रे त्यहीँ ठाउँमा जहाँ कुनै बेला आमा बाहेक अरु जान नि डराउँथे । मसान जस्तो सुनसान भिर अब माछा बजार जस्तो भएको छ रे ।
कालापडाले शिरमा राखेको जोगिथालाबाट गाउँ छिर्नेको लर्को लाग्छ रे आज भोलि । निस्किन्छन सपना बोकेका एक हुल मान्छे, बिसाउछन भारी जोगिथालामा अनि पिउछन एक मुठी बासखोलाको पानी । लाग्छन कहिल्यै नफर्किने गरि नव गन्तव्य तिर ।
आजभोलि मेरो गाउलाई सुनसान नामको रोगले च्यापेको छ रे । कुनैदिन गाउँ मै नअट्ने मान्छे थिए तर आज दुई घर पनि मुस्किलले देखिन्छन् ।
हिजो बाटो थिएन, पानी थिए, विकास थिएन । आज यो सब छ तर मान्छे छैनन् । कोहि दोन्दकालमा ज्यान जोगाउन भागेका अहिले सम्म फर्किएअन्न, त कोहि उज्ज्वल भबिस्यको खोजिमा सदरमुकाम कि सहर तिर छिरे।
कालापडाले मेरि आमा जस्ता धेरै नारिको स्पर्श पाएको थियो होला तर उसलाई मेरि आमाको स्पर्श नै प्यारो लाग्छ ।
सयद अरुले कालापडालाइ भिर मात्र सम्झे तर आमाले भने सङिनिको रुपमा हेरेकी थिइन। अरु मेला नभएका पनि होइनन् तर कालापडाको घाँस पोसिलो हुने भएकोले आमाको दैनिकि नै कालापडा बनेको होला।
आफू अस्ताउनु भन्दा अघि एक चोटि मेरि आमालाई गाउँ छिर्नु छ । सुमसुमाउनु छ ती पाखा बेसि जो सँग मेरि आमाको कहिल्यै नटुट्ने नाता छ । लगाउनु छ सिरानी निर्धक्क सँग एक मुठ्ठी घाँसको मुठाको, गाउनु छ ठाडी भाका दश कोष टाढा पुग्ने आवाजमा ।
यो चाहाना मेरि आमाको मात्र पनि त होइन । कालापडाले पनि त मेरि आमालाइ पर्खेको छ । आज पनि कालापडाले मेरि आमाको बाटो हेरेर बसेको छ।
उ पनि सोच्छ होला एक दिन उनी आउनेछीन अनि मलाई सुमसुमाउने छिन जुन स्पर्शको दशकै देखि प्रतीक्षामा छ उ पनि ।।
गाउँ छोडेको बीस वसन्त पार हुदा पनि मेरि आमा गाउँ जान सकेकी छैनन् । मेरो आमालाइ गाउले बोलाएको छैन कि मेरि आमाले न्युतो स्विकार्न सकेकी छैनन् तर दुबै एक अर्कालाई भेट्न आतुर छन ।
कालापडाले पनि त मेरि आमाको बेग्र प्रतीक्षा गरेको छ । मेरि आमालाई पनि त कालापडा संग फेरि एक चोटि रमाउने मन छ । त्यसै गरि जसरी जवानिमा रमाउथिन ।
कहिलेकाहीँ आमाले सन्दूक खोलेर घन्टौं सम्म आँखाबाट आँसु खसाल्दा मलाई पनि सन्दुक खोलेर हेर्ने चाहाना बढेर आउँछ तर मेरि आमाको लागि खास लाग्ने कुरा मेरो लागि छि पनि हुन सक्छन भन्ने कुराले सताउछ अनि आफै आफ्नो बाटो ताक्छु । म आमा कै आघी मेरि आमाको प्यारो चिजलाइ हेरि नाक खुम्च्याउन चाहादैन।
कुनै दिन मौका मिलेछ भने आफै खोल्नेछु त्यो सन्दूक, जुन सन्दूकको आघि मेरि आमाको सबैभन्दा बढी समय बितेको । जुन सन्दूकको आडमा बसेर सबैभन्दा बढी रोएकी छिन ।
म हेर्न चाहन्छु त्यो सन्दूक भित्र खास त्यस्तो के रहेछ र मेरि आमाले अहिले सम्म समालेर राखेकी छिन । म महसुस गर्न चाहन्छु त्यो सन्दुकको जीवन कस्तो थियो ।
यो सन्दूक हेरिरहदा कहिलेकाहीं मेरो मनमा जिज्ञासाले गुड बनाउन थाल्छ अनि सोच्न थाल्छ म जिउन चाहान्छु एक दिन मेरि आमाको जिवन ।
म जान चाहन्छु एक हुल दौँतरी सङ मेला पात, म महसुस गर्न चाहन्छु त्यो कालापडा संगको प्रेम, म स्पर्श गर्न चाहन्छु मेरि आमाले सबै भन्दा बढी समय बिताएको त्यो भिर जाहा हरकोही जान सक्दैन थ्यो ।
म छुन चाहान्छु त्यो ठाउँ जहाँ मेरि आमाको एक स्पर्शले चनचलिएको मन पनि आनन्द हुन्थ्यो ।
निराजन उपाध्याय/दैलेख
जुम्ला दर्पण । ८ भाद्र २०८१, शनिबार ११:१६