भुकम्प पीडित छाेरी पढाउँदै ज्योति फाउण्डेसन

 

सुर्खेत – भुकम्प प्रभावित क्षेत्रका बेसहारा छोरीहरुको लागि ज्योति फाउण्डेसन अभिभावक बन्न थालेको छ । भुकम्प प्रभावित जिल्ला जाजरकरोट, रुकुमपश्चिम र सल्यानका बेसहारा छोरीहरुको लागि ज्योति फाउण्डेसनले अभिभावकत्व ग्रहण गर्न लागेको हो ।

सुर्खेतमा स्थापना भएको ज्योति फाउण्डेसनले आमा, बुवा नभएका बेसहारा छोरीहरूको पठनपाठनमा समेत सहयोेग गर्ने भएको छ ।

भूकम्पमा परी आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको फाउण्डेसनका अध्यक्ष ज्योति कटुलालले बताइन् । उनका अनुसार तत्काल २० जना छोरीको शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्दै फाउण्डेसनले अभियानको रुपमा नयाँ कामको सुरूआत गर्ने तयारी छ ।

‘भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीलाई कक्षा १ देखि कक्षा १० सम्म पढाइमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले व्यहोर्ने छ’ अध्यक्ष कटुवालले भनिन, ‘तर बेसाहारा छोरीहरु सामुदायिक विद्यालयमा अध्ययनरत भएको हुनुपर्नेछ । उहाँहरुको शैक्षिक सामग्री तथा पोषाकमा लाग्ने खर्च फाउण्डेसनले व्यहोर्ने छ ।’

फाउण्डेसनको यस अभियानले कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएका छोरीको पढाइमा सहयोग पुग्नेछ । ‘यो बेलामा भूकम्प प्रभावित जिल्लाका बेसहारा छोरीहरु पीडित बनेका छन्’ अध्यक्ष कटुवालले भनिन्, ‘आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीलाई शिक्षामा सहयोग गर्ने हाम्रो अभियानमा सहयोगी हातहरुलाई समेत खाँचाो छ ।’

उनका अनुसार भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छोरीहरूलाई फाउण्डेसनले पढाउने छ । उहाँका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

यही उद्देश्यका साथ फाउण्डेसनले गएको मंसिर १५ गते सुर्खेतमा सांगीतिक साँझ समेत आयोजना गरेको थियो । उक्त सांगीतिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने अध्यक्ष कटुवालले बताइन् ।

सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार चार सय ९७ रुपैयाँ संकलन गरेको थियो । जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिइन् । हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार चार सय ६३ रुपैयाँ बचत छ । सांगीतिक साँझका क्रममा बिक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको उनको भनाइ छ ।