छुमचाैर ज्युलाेमा राेपाइँ महाेत्सव सम्पन्न

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाइँ महोत्सव सम्पन्न भएकाे छ । जिल्ला कृषि विकास कायर्यालय जुम्लाकाे आयाेजनामा धान दिवस तथा राेपाइँ महाेत्सव सम्पन्न भएकाे हाे ।

विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको छुमज्युलोमा मार्सीधानको संरक्षण,उत्पादन बृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी महोत्सव हुदैँ आएको छ ।
किसानको निष्क्रीयताले माग र महत्व बढेपनि पातारासी ३ छुमज्युलोमा मार्सीधान खेती घट्दै गएको छ ।

खेती गर्ने समय जेठमा अधिकांश महिला पुरुषहरु पाटनतिर जडिबुटि संकलन गर्न जाने र खेतीमा चासो नदिने समस्याले मार्सीधान संगै अन्य रैथानेबालीको उत्पादन घट्दै गएको हो ।

कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्न थालेपछि खेतीमा किसानको आर्कषण संगै उत्पादन बढाउन तथा खेती विस्तार गर्न रोपाई महोत्सव गरिँदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

उनले भने,‘छुमज्युलो विश्कै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रूपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । सदरमुकामबाट सबै सरोकारवाला छुममा पुगेर रोपाँई महोत्सव गर्नुको अर्थनै किसानलाई खेतीमा प्रेरित गर्ने,मार्सीधानको संरक्षण तथा प्रर्बद्धन गर्ने हो । अझै खेतीमा आर्कषण नहुँदा छुमज्युलो बाँझिदै गएको छ । तर मार्सीधान,स्याउ,सिमि,ओखर लगायतका रैथानेबालीको संरक्षण र उत्पादन बढाउने हाम्रो प्रयास जारी छ ।’

मार्सीधानको संरक्षणका लागि कृषि विकास कार्यालयले वर्षेनि महोत्सव गर्नुका साथै आबश्यक मल विउ,सिप,प्रविधि लगायतको सहयोग गर्दै आएको छ ।

समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । उक्त ज्युलो ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।