जुम्लामा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण,४९ प्रतिशत अनुत्तीर्ण

जुम्ला : जुम्लामा २०८० सालकाे एसईई परिक्षामा एक खुल्लासहित ५० विद्यालय सहभागी थिए ।  परीक्षामा सहभागी जम्मा विद्यार्थी संख्या  २ हजार ५ सय २७ जना थियाे ।

शिक्षा तथा समन्वय ईकाई जुम्लाले असार दाेस्राे साता प्रकाशित एसईई परिक्षाकाे नतिजा अनुसार परिक्षामा सहभागी मध्ये ठिक आधा मात्रै विद्यार्थी उर्त्तीण भएकाे जनाएकाे छ ।

जसमा जम्मा १ हजार २ सय ८१ ( ५०.६९% ) जना मात्रै विद्यार्थी  उत्तीर्ण भएका छन् ।  कार्यालयकी प्राविधिक सहायक लालसरी बुढाक्षेत्रीका अनुसार NG अर्थात अनुत्तीर्ण हुने विद्यार्थीकाे संख्या १ हजार २ सय ४६ (४९. ३१%) जना रहेका छन् ।

जुम्लामा एसईईमा उत्तीर्णमध्ये कुनैपनि विद्यार्थीले उपलब्धि प्रतिशत ९० र साे भन्दा माथि,स्तरीकृत अंक जिपिए ४.० अक्षर उपलब्धि स्तर  `ए प्लस´ कुनैपनि विद्यार्थीले प्राप्त गर्न सकेनन्  ।

अक्षर उपलब्धि स्तर `ए´ल्याउने विद्यार्थीकाे संख्या जम्मा १७ जना मात्रै छ । यस्तै १७३ जनाले `बी प्लस´,५७२ जनाले `बी´ अंक प्राप्त गरेका छन् । यसैगरी `सी प्लस´ ल्याउने विद्यार्थीकाे संख्या ४८९ जना रहेकाे छ ।

अक्षर उपलब्धि स्तर `सी´३० जनाले प्राप्त गरेका छन् । भने NG अंक प्राप्त गर्नेकाे संख्या १२४६ रहेकाे छ ।
स्थानीय तह उत्तीर्ण संख्या : चन्दननाथमा धेरै, गुठीचाैरमा थाेरै
२०८० सालकाे एसईई परिक्षामा जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाका ६३७ मध्ये ३४६ विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा कम गुठीचाैर गाउँपालिकाका एसईईमा सहभागी १२० मध्ये २४ जना मात्रै उत्तीर्ण भएका छन् ।

तातोपानीमा १०४,तिलामा २३८ र हिमामा १५० जना उत्तीर्ण भएका छन् । यसैगरी सिंजामा १५७,पातारासीमा १०२ र कनकासुन्दरीमा १६० जना उत्तीर्ण भएका छन् ।