सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि भारतीय टोली चितवनमा आइपुग्यो

काठमाडौ -सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि भारतीय टोली चितवन आइपुगेको छ । उपकरणसहित आएको १२ सदस्यिय प्राविधिक टोलीलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको बारमा जानकारी गराएका छन् ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टोलीलाई जिल्ला प्रशासन कार्यालयमा स्वागत गर्नुका साथै घटनाको बारेमा जानकारी गराइएको हो । त्यसपश्चात उक्त टोली घटनास्थलतर्फ गएको छ ।

भारतीय टोलीसँग गोताखोर ४ वटा, सोनार क्यामरा ३ वटा लगायतका उपकरण रहेको प्रजिअ यादवले बताए । यादवका अनुसार भारतीय टोलीले सात दिनसम्म खोज तथा उद्धारको कार्य गर्ने छ । घटनास्थलदेखि त्रिशूलीको तल्लो तटिय क्षेत्रमा खोजी कार्य हुने उनले बताए ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ । अझै कम्तिमा ३८ यात्रु बेपत्ता भइरहेका छन् ।