जुम्ला : जिल्लाको सिंजा गाउँपालिकाले अस्पताल निर्माणको जग्गा आवश्यक रहेको भन्दै निःशुल्क प्रदान गर्न अपील गरेको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर ३ मा निर्माण हुने अस्पतालको लागि जगा आवश्यक रहेको हुँदा निःशुल्क जग्गा दिन आग्रह गरेको हो ।
गाउँपालिकाद्धारा जारी सूचनामा गाउँपालिकाको वडा नम्बर ३ मा निर्माण हुने १० शैयाको अस्पतालको लागि तोकिएको मापदण्ड बमोजिम सात रोपनी ३६०० वर्ग मीटर जग्गा आवश्यक भएकोले वडा नम्बर ३ धिताललिहीदेखि नवलीसम्मको सडक प्रदान गर्न आग्रह गरिएको छ । उक्त जग्गा सडक सञ्जालसँग जोडिएको हुनुपर्नेछ ।
जग्गा दान गर्न चाहने जग्गा धनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिकामा सम्पर्क गर्नुपर्नेछ । इच्छुकले निवेदन, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र जग्गा धनी प्रमाण पत्र पेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताएका छन् ।

जुम्ला दर्पण । १६ भाद्र २०८२, सोमबार २०:२७