कविता – खल्तीमा ढुङ्गा बोकेर

खल्तीमा ढुङ्गा हालेर हिँडेका

उदास लफङ्गिन्छन् खोलाहरु

काठमाडौंमा ।

चोभारबाट निस्किन पालो कुर्दै गर्दा

खल्तीमा ढुङ्गा हालेर हिँडेका

निराश बतासिन्छन् बादलहरु

काठमाडौं माथि

थानकोटबाट निस्किरहेका हुलका हुल मानिसहरुसँगै

बर्खाको पानी त्यसै त्यसै रहलिन्छन् गल्लीहरुमा

खल्तीमा ढुङ्गा बोकेपनि

सुन्छु ।

डुङ्गा लिएर आउने मामाहरु

रातको बाह्र बजे कुरिरहेछन् ।

 

खल्तीमा ढुङ्गा बोकेर उभिरहेछ

बीच सडकमा

राष्ट्रपिताको शालिक

मरे पनि पिण्ड खान पाईहालेका छन् ।

सुन्छु,

स्वर्गमा सुरा-अप्सरासँग नाचिरहेछन

चौरासी व्यञजन र अमृत फल खाइरहेछन्

तिनीहरुका सन्तान

ढुङ्गा खान्छन्  ।

(निम्ब तरु अर्घाखाँचीका साहित्यकार हुन् । उनका कविताहरु निकै सशक्त छन् । उनको लेखन शैलीको छुट्टै छवि छ ।)