जुम्लाको सिंजाका अध्यक्ष धिताल र बाँकेको कोहलपुरका नगरप्रमुखबीच भेटवार्ता

जुम्ला :  बाँकेको कोहलपुर नगरपालिका र जुम्लाको सिंजा गाउँपालिकाबीच असल सम्बन्ध विकास गरिने भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र सिंजाका अध्यक्ष पूर्णप्रसाद धितालबीच भएको भेटवार्तामा दुई पालिकाबीच असल अभ्यास आदानप्रदान गर्ने,भ्रमण आदानप्रदान र दुई स्थानीय सरकारबीच असल सम्बन्ध विकास गर्ने विषयमा छलफल भएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यसँगको भेटपछि सिंजाका अध्यक्ष धितालले सामाजिक सुरक्षा लाभग्राही नविकरणका लागि कोहलपुरका नगरप्रमुखसँग छलफल भएको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘जुम्लाका हजारौं जनता बसेका नवोदित तथा व्यवस्थित नगरी कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यसँग शिष्टाचार भेट गरियो । भेटमा सिजा सँस्कृतिको पहिचान, विकास र उन्नयनमा कोहलपुर नगरपालिकाको भूमिका चासो र पहलकदमीबारे विमर्श भएको छ ।’ यस्तै विभिन्न शिलशिलामा कोहलपुरमा बसोबास गरिरहेका जुम्लाका जनताले विकास गरेको एकता र आपसी सहयोगबारे नगर प्रमुख आचार्यले प्रशंसा गरेको समेत उनले उल्लेख गरेका छन् । जुम्ली एकता सेवा समाज बाँकेसँग सहकार्य गरि देउडाको विकास र साँस्कृतिक संरक्षणमा आफ्नो पूर्ण सहयोग रहने धारणा नगर प्रमुख आचार्यले राखेको धितालको भनाइ छ ।

सिंजा र जुम्लाका सबै गापाबाट कोहलपुरमा बसिरहेका जेष्ठ नागरिक,एकल महिला र बालबालिका लगायत सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको नविकरणको लागि सहजीकरण गरिदिन आग्रह गरिएको समेत उनले उल्लेख गरेका छन् । ‘उहाँसँग सौहार्दपूर्ण रुपमा भेट भयो । विविध विषयमा कुरानी भए । खासगरी सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको नविकरणको लागि सहजीकरण गरिदिन आग्रह गरेका थियौ । उहाँले आफुले सबै वडाहरुमा निर्देशन दिने वचन दिनुभएको छ ।’ अध्यक्ष धितालले भने । भेटमा सिंजा गापा र कोहलपुर नगरपालिकाबीच असल सम्बन्ध विकास गर्ने,भ्रमण आदनप्रदान गरी दुईपालिकाबीच असल अभ्यास आदन प्रदान गर्नेबारेमा छलफल भएको थियो ।