तातोपानीका २९ विद्यालयलाई दिवा खाजा सामग्री वितरण

जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिकाले पालिका क्षेत्रका २९ विद्यालयलाई दिवा खाजाका लागि आवश्यक सामग्री वितरण गरेकाे छ । आइतबार पालिकाकाे मुकाम लिताकाेटमा औपचारिक कार्यक्रमकाबीच सामग्री वितरण गरिएकाे हाे ।

तातोपानी-५ स्थित दुर्गा माविका प्रअलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँ ।

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम अन्तर्गत तातोपानी गाउँपालिका र बिश्व खाद्य कार्यक्रमको साझेदारिमा २९ वटा विद्यालयलाई सामग्री वितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार २९ विद्यालयका २ हजार ८ सय विद्यार्थीलाई पुग्ने गरि सामग्री प्रदान गरिएकाे हाे ।

प्रति विद्यालयलाई १२ प्रकारका २ हजार ९ सय थान वितरण गरिएकाे हाे । वितरण गरिएका सामग्रीहरूमा थाल, गिलास, कटौरा, बाल्टिन, बटा, डाडु, पन्यु, डेक्ची, कराइ, प्रेसर कुकर लगायत छन् ।

उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष चाैलागाईँले सामग्री वितरणपछि दिवा खाजा कार्यक्रम थप प्रभावकारी हुने विस्वास व्यक्त गरेका छन् । उनका अनुसार विद्यार्थीहरूकाे स्वास्थ्यका लागि स्थानीय कृषि उपजलाई प्राथमिकता दिइएकाे छ ।