कथा :- पैसा

मधु नाम जस्तै गुलियो स्वभावकी धनी थिइन् । उनी असाध्यै सुन्दरी थिइन् । सधैंभरि मीठो बोली बोलेर सबैलाई रिझाएकी थिइन् । स्नातक पास भएपछि घरमा उनको बिहेको कुरा चल्न थाल्यो ।

मृदुभाषी, सुकुमारी मधु आमाबुबाको इच्छा अनुसार विवाह गर्न राजी भइन् । गौरवसंँग मधुको विवाह भयो । व्यवसायी गौरव व्यापारको सिलसिलामा बाहिर गइरहन्थे ।

मधुको गौरवसँंगको वैवाहिक सम्बन्ध राम्रैसँग बितिरहेको थियो । उनीहरूबीच अगाध प्रेम थियो । मधुले दुई वर्षको अन्तरालमा दुई छोरा जन्माइन् । छोरा हुर्काउन रमाएकी मधुलाई बाहिरी संसार हेर्ने फुर्सद थिएन ।

धेरै खुसी मनभरि सँगालेर मधु छोरासँगै एक महिना माइत बस्न आइन् । आमाको सान्निध्यमा माइतीमा छिट्टै समय बित्यो । समयको चक्रसँगै माइतबाट बिदा भएर उनी घर आइन् ।

घरमा नौला मान्छे आएका थिए । अन्दाजी पच्चीस वर्षे आइमाई र एउटी केटी थिई । मधुले हाँसेर सोधिन् ‘तपाईलाई मैले चिनिन’ ? मधुको प्रश्न नसकिदै सासू आमा बाहिर आइन् ।

ठूलो छोरा आँगनमा भकुण्डो खेल्दै थियो । मधुले उत्तरको प्रतीक्षा गरिनन् । ढोगभेटपछि आफ्नो कोठामा आइन् । लथालिङ्ग कोठा मिलाउन थालिन् । एक महिना घर छाडेर हिड्दा मेरो कोठा गोदाम भएछ ।

एक्लै बोल्दै कुचो लगाइन् । साँझ झमक्क भइसकेछ । हतारहतार भान्छाको तयारीमा जुटिन् । छोरा र सासू आमालाई खाना ख्वाइन् । पाहुना र तीनकी छोरीलाई खान दिइन् ।

खाना खाएपछि छोराहरूलाई सुताउँदै थिइन्, गौरव आइपुगे । मधुले गौरवतिर हेर्दै भनिन् ‘कहिलेकाहीं त हामीलाई सम्झेर छिटो आउँदा हुन्थ्यो नि !’ काम धेरै थियो, मिटिङ साँझ परेपछि सकियो ।

छिटो आउन चाहेर पनि सकिनँ । मधु उठिन् ! हिँड्नुस खाना खाऊँ भोक लागिसक्यो दुबैजना खान गए । खाना खान सुरु गरेपछि गौरवले रामवती खोई भनेर सोधे ।

ए ! त्यो बच्चाकी आमा खाना खाईवरी सुत्न गई । मधुले सरल जवाफ दिइन् । गौरव केही बोलेनन्, चूपचाप खाना खाए । मधु खुसी थिइन् । गौरव खाना खाएर आमाको कोठातिर गए ।

मधु भान्साको काममा लागिन् । आमा निदाउनुभयो ? छैन् बाबु आइज भित्र, आमाले बोलाइन् । गौरव आमाको छेउमा बसे, आमा उठेर बसिन् ।

आमा म के गरूँ ? भोलि मधुले सबै कुरा थाहा पाउँछे । मैले सोच्न सकेको छैन । म मधुलाई सम्झाउन सक्दिनँ । कसरी भनूँ आमा केही ..।

गौरव मधु सोझी र पढेलेखेकी छे । समस्या जति जटिल भएपनि समाधान नगरी हुँदैन ।

यी कुरा मैले भन्दा तैले भन्नुपर्छ । धैर्यका साथ प्रेमले सम्झाउनु, आवेशमा नआई । समस्याको समाधान खोज्नुपर्छ । प्रयास तैले गर्नुपर्छ । आमाछोरा बीच गोप्य वार्ता चलेजस्तो छ नि ! मधु हाँस्दै भित्र पसिन् ।

मधु आइमाईको जीवनमा कति बेला आँधीबेहरी आउँछ थाहा हुँदैन । वर्षा कालमा पानी पर्छ, असिना पर्छ, पहिरोले बगाउँछ तर नारीको जीवनमा वसन्त ऋतुमा पनि पहिरो जान्छ ।

पहाड भत्केर टाउको माथि खस्छ, धेरै समस्या आउँछ । अर्काले गरेको गल्तीको समस्या भोग्नुपर्छ, । सोचेर निर्णय गर्नुपर्छ ।
आमा खुलस्त कुरा गर्नुस् । मैले केही बुझिन ? मधु छक्क परी , उठ म भन्छु, सबै कुरा खुलस्त पार्छु ।

गौरवले मधुलाई लिएर आफ्नो कोठामा आए । ढोका बन्द गरे । एउटा पलङ्गमा छोराहरु सुतेका थिए । छोराहरु मस्त निद्रामा थिए ।

अर्को पलङ्गमा दुबैजना बसे । मधु उत्सुक थिइन, आखिर के भएछ ? किन आमा छोरा गम्भीर छन् ।

मधु यो कुरा आज भन्दा दश वर्ष अगाडिको हो । गौरव बोल्न खोज्दै थिए, लामो सुस्केरा हाले पुनः बोल्न थाले । म बी.एड. पास भएपछि गाँउ गएँ । बुवा बिरामी हुनुभएको थियो

। रामवतीको बाबु हाम्रो हरूवा थिए, खेती गर्न रामवतीको परिवार सिपालु थिए । हाम्रो खेतमा काम गर्थे र हाम्रै घरमा बस्थे । म र रामवतीबीच शारीरिक सम्बन्ध भयो ।

मधुले त्यसपछि केही पनि सुनिनन् । अनुहारमा पीडा व्याप्त भयो, आँखामा आँसु भरियो । गौरव एक्लै बोलिरहेका थिए । अस्ति पार्टीका मान्छे आएर घरमा बुझाएर गए ।

सारा संसार घुमिरहेको थियो, मधुको मनमा गौरवप्रति प्रेमको स्थानमा घृणा भरिदै आयो ।
धेरै बेरसम्म कोही बोलेनन् । मधु जुरुक्क उठिन् दैलो उघारेर बाहिर निस्किइन । गौरव पछिपछि हिडे । रातको अँध्यारोमा सुनसान बाटो थियो ।

मधुको हात समाएर गौरवले रोक्न खोजे । मधु हिडिरहिन् । झड्काएर हात छुटाई केही नबोली अगाडिबबढिरहिन, निरन्तर हिडिरहिन । गौरवले मधुको साथ छोडेनन् ।

धेरै टाढा आएपछि वर पिपलको चौतारीमा मधु बसिन् । गौरव सँगै आएर बसे । विस्तारै हात मधुको काँधमा राखे ।

थकित मन र शरीर दुवै ढल्यो, मधु ढलिन् । गौरवले उठाएर चारैतिर नजर दौडाए पानी कतै थिएन । कसो गर्ने मन आत्तिएको थियो ।

मधुलाई विस्तारै बोलाए, केही समयपश्चात विस्तारै आँखा खोलिन् । मधु मैले रामवतीसँंग प्रेम गरिनँं । एक दिनको सम्पर्कपछि हाम्रो सम्बन्ध रहेन ।

तिमीलाई देखेपछि मैले कसैलाई हेरिनँ । मैले सधैं तिमीलाई मात्र माया गरेँ , मैले गरेको भुललाई क्षमा गरिदेऊ । मधु म तिमी बिनाको जीवन बाँच्न चाहन्न, तिमी घर हिड् ।

म तिम्रा लागि ज्यान फाल्न तयार छु । दुईजना छोरा सम्झेर हिड् । मधु बिस्तारै उठिन् । गौरवले मधुलाई विवाह अघि भएको सम्बन्धलाई भुलको उपमा दिए ।

मधुको आँखाबाट आँसु बगिरह्यो गौरवले आँसु पुछिरहे । विहानको तीन बजे दुवैजना घर फर्के । गौरवले मधुलाई भुल भएको विश्वास दिलाए ।

घर आए, दुवै छोरा मस्त निन्द्रामा थिए । आमाको कोठामा बत्ती बलिरहेको थियो । मधुले गौरवलाई सोधिन् ! अब रामवतीलाई के गर्नुहुन्छ ?

रामवती हाम्रो सानो समस्या हो, म त तिम्रो चिन्ता गरिरहेको छु । रामवतीलाई मिलाउने मैले सोचिसकेको छु । गाउँको खेतबारी रामवतीको नाममा पास गरिदिन्छु ।

रामवतीको छोरी के गर्नुहुन्छ ? गौरवले भने उसैले लैजान्छे । रामवतीकी छोरी म राख्छु । मधुको कुरा बीचमा काट्दै गौरवले भने रामवतीको छोरी नराख, अरूले उचालेको भरमा यहाँ आई । रामवती गलत पनि छैन् ।

उसले आफ्नो अधिकार पाउनुपर्छ, रामवतीको छोरी म राख्छु । अरू सल्लाहपछि गरौंला भनेर दुवै जना सुते । गौरवको आँखामा निन्द्रा थिएन । मधु निदाइन् । बिहान आठ बजे मधुको आँखा खुल्यो ।

छोराहरू कोठामा थिएनन् । गौरवले चिया बनाएर ल्याए । मधु ओछयानमा सुतिरहेकी थिइन् । दुबै जनाले सँगै चिया पिए । छोराहरू कहाँ गए ? गौरवले आमासँग छन् भनेपछि ढुक्क भइन् ।

जुरुक्क उठेर वाथरुम गइन् फर्केर आएपछि रामवतीलाई बोलाउनुस् । म मिठो कफी बनाउँछु भनेर भान्छातिर गइन् ।

कफी लिएर आउँदा गौरव रामवतीलाई बोलाएर अगाडि आइसकेका थिए । मैले जे भने पनि तपाईं चुप लागेर बस्नुस् है भनिन् । गौरवले सहमति जनाए ।

रामवती छोरी लिएर मधुको कोठा बाहिर आएपछि अडिई । मधु र गौरव सँगै बसेका थिए । रामवती बाहिर उभिएको थाहा पाएर भित्र बोलाइन् । रामवती छोरीको साथमा भित्र आई ।

मधुले रामवतीसँग छोरीको नाम सोधिन् जमुनाह नाम रहेछ । जमुनाह र रामवतीलाई सोफामा बसाइन् । प्रेमले ढुंगा त पग्लन्छ मधुलाई थाहा थियो । मधुले बिस्तारै रामवतीलाई सोधिन् ‘रामवती तेरो के विचार छ’ ?

तैंले भनेको कुरा हामीले मान्छौं भन् भनेपछि रामवती झस्किई । मौन व्रत बसेझैं भई । एक्कासि मधुको प्रश्नको उत्तर दिन रामवती तयार थिइन ।

रामवतीले मधुलाई सोचेको भन्दा उल्टो पाएकी थिई । मधुले पुनः प्रश्न गरिन् रामवती तैंले चुप लागेर यति ढिलो भयो अब चुप नलाग तेरो मनमा के छ ?

रामवती बिस्तारै बोली– मलाई न्याय चाहिएको छ ।
कस्तो न्याय चाहियो ? तँलाई चाहिएको कुरा प्रष्ट पार । के चाहियो ? कति चाहियो ? मधुको कुरा सुनेर रामवतीले आफन्तसँग सल्लाह गरेर भन्छु भनिसकेपछि मधु उठेर दराज खोलिन् हजार हजारका दशवटा नोट रामवतीलाई दिइन् ।

दुई दिनपछि सोमवार एघार बजे आफ्ना मान्छे लिएर आउनु भनिन् । रामवतीले हुन्छ भनेर टाउको हल्लाई । जमुनाह तँ यहीँ बस रामवती भरे आउँछे । मलाई घरको काममा सहयोग हुन्छ । रामवतीले छोरीलाई सम्झाएर गाउँ जान हिँडी ।

गौरव छक्क परेर हेरिरहेका थिए । मधुले गौरवलाई हेर्दै भनिन्–मलाई अरू पैसा चाहिएको छ । गौरवले हाँस्दै भने–पैसाको के कुरा ज्यान हाजिर छ ।

मैले भनेको कुरा राम्ररी सुन्नोस् । मलाई अहिले दुईतीन लाख चाहियो । गौरवले उठेर आफ्नो दराज खोल्यो । दुई लाख लेऊ बाँकी कति चाहिन्छ भन्नु म एटिएमबाट झिकौंला हुन्छ । मधुले गौरवको हातबाट लिएको रकम दराजमा राखिन् ।

हरिया कहाँ छ ? मधुको प्रश्नको उत्तर दिँदै भने– फ्याक्ट्रीमा छ बोलाउनुपर्छ । हरियनलाई फोन गरेर बोलाए । आधा घण्टापछि हरिया आयो । मधुले हरियालाई आफ्नो कोठामा बोलाइन् ।

हरिया तिम्रो बिहे भएको छ कि छैन ? छैन मालकिन् । मधुले फेरि सोधिन् किन नगरेको ? घरमा दुई जना बहिनी बिहे नगरी बसेका छन् ।

तिनीहरूको बिहे खर्च जुगाड भएको छैन्। बाउआमा मरिसके । कमाउने एक्लो म छु । कति पैसा पायौ भने बिहे गर्छौ ? मालिक्नीसँग के ठग्नु मसँग पैसा बच्दैन । गरीब मान्छेले,म तिमीलाई चार लाख दिन्छु । मैले भनेको मान्छौ ?

हरिया छक्क पर्यो । उसलाई लाग्यो मालिक्नी बहुलाएकी त छैनन् ? उसले चारैतिर हेर्‍यो । मनमा नराम्रा विचार आयो । ऊ डराएजस्तो भयो ।

मधुले बिस्तारै भनिन् ‘हरिया तिमी रामवतीलाई फकाएर बिहे गर, म तिमीलाई चार लाख दिन्छु। तिम्रो बहिनीको बिहे खर्च पचास हजार अरू थपिदिउँला’।

हरियाले सबै कुरा बुझ्यो । मालिक्नी म रामवतीसँग बिहे गर्छु तर रामवतीकी छोरी जमुनाह कसले पाल्छ ? जमुनाह तिमीले पाल्नु पर्दैन ।

रामवतीलाई मैले सोमबार आफन्त लिएर आउन पठाएकी छु । एक घण्टा अगाडि गाउँ जान्छु भनेर गएकी छे । तिमी अहिले यो लिएर जाऊ बाँकी काम भएपछि दिन्छु ।

हरिया गौरवको घरबाट निस्क्यो । हरियाको उद्देश्य रामवतीलाई खोज्नु थियो । पहिलो फिलिम हल गयो दुई वटा फिलिमको टिकट किनेर हटियातिर गयो ।

हटियामा दुई चक्कर लगायो । रामवती देखेन । बुधनीसँग भेट भयो । हरियाले रामवतीलाई हटियामा देखेको छौ भनी सोध्यो । बुधनीले रामवती कृष्णे साहुको कपडा पसलमा छे भनिदिई ।

हरिया हतारहतार कृष्णे साहुको कपडा पसलमा गयो । रामवती सारी छान्दै थिई । हरिया पनि सारी छान्न थाल्यो । हरियाले रामवतीलाई कसलाई सारी किनेको भन्यो ।

रामवतीले आफैंलाई किन्न लागेको भनी । हरियाले मलाई पनि छानिदेऊ भन्यो । रामवतीले दुइटा सारी किनी । हरियाले एउटा सारी किन्यो । चोलो र पेटीकोट किन्यो ।

हरियाले रामवतीलाई तँ यहीँ बस्छेस् होला म त गाउँ जान्छु भनेपछि रामवतीले म पनि जान्छु, तेरो साइकिलमा लान्छस् भनेपछि हरियाले हुन्छ भन्यो ।

भोक लागेको छ भनेर रामवतीलाई होटलमा लगेर सिँगडा छोयला ख्वायो । चिया पनि खान्छेस् भनेर सोध्यो । रामवतीेले हुन्छ भनी ।

दुवै जनाले चिया पिएपछि हरियाले बिस्तारै जाल फिँजाउने विचार गर्यो । रामवती राम्रो फिलिम चलेको छ । मसँग दुइटा टिकट पनि छ ।

फिलिम हेरेर मेरो साइकिलमा घर जानुपर्छ । रामवतीले आज जान्न भनी । हरिया मान्नेवाला थिएन । फकाएर छाड्यो । दुवै जना फिलिम हेर्न गए ।

फिलिम हेर्दा मध्यान्तरमा हरिया बाहिर निस्क्यो । टेलिफोनबाट सबै कुरा मधुलाई भनेर आज म रामवतीलाई छाड्दिन भनेर फोन राखिदियो ।

हरियाले फोन राखेपछि मधुले गौरवलाई फोन गरेर घर आउन भनिन् । गौरव घर आएपछि सबै कुरा गौरवलाई भनिन् । मधु र गौरव प्रहरी कार्यालयमा गई सारी चोलो किन्न जान्छु भनेकी रामवती घर नफर्केको जानकारी दिए ।

हराएकी रामवतीको फोटोसहितको निवेदन दिएर फर्के । रामवतीको फोटो हातमा लिएर प्रहरी गस्ती टोली निस्क्यो ।

नौ बजे फिलिम सकिएपछि साइकल पन्चर भएकोले हरियाले रामवतीलाई होटलमा बस्न राजी गरायो । होटेलमा खाना खाएर राति त्यहीँ बसे । रातको बाह्र बजे रामवती र हरियालाई लजको कोठाबाट प्रहरीले पक्राउ पर्यो ।

बिहान हरिया र रामवतीको गाउँमा सूर्यको किरण फैलिएसरी खबर फैलियो । गाउँले सबै प्रहरी कार्यालयमा आएर रामवतीलाई हरियाको जिम्मा लगाए ।

साँझमा हरियाको हातमा गौरवले दिएको चारवटा हजार हजारका बन्डल दिए । चारपाँच दिनपछि मधुले थाहा पाइन् हरिया र रामवती गाउँ छाडेर अन्तै बसाइँ सरेछन् ।

मधुले मनमनै सोचिन् ‘यो पैसाले मान्छेलाई जता पनि लैजाँदो रहेछ । जीवनको सुन्दर पल पैसाले किन्न सकिदोरहेछ’ !

ममता मृदुल/ विराटनगर