छात्रा निस्कासन प्रकरण : कक्षा काेठा फर्किने भए छात्रा

२४ घण्टापनि टिकेन छात्रा निस्कासनकाे निर्णय

जुम्ला: जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले विद्यालयकाे निर्णय विपरीत फाइनल खेलेर निस्कासनमा परेका १२ छात्रा विद्यार्थी कक्षा काेठामा फर्किने भएका छन्।

अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए।

पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएकाे भन्दै छात्राहरु समेतलाई फाइनले खेलमा नपठाउने निर्णय गरेकाे थियाे। विद्यालयकाे निर्णय विपरीत छात्रा विद्यार्थीहरुले फाइनल खेलेपछि निस्कासन गरेकाे थियाे।

तर विवाद अगाडि नै फाइनलमा पुगिसकेका हुनाले पनि खेल्ने चाहना बढेकाे सहभागी छात्रा खेलाडीकाे सामुहिक स्वर थियाे।

विद्यार्थीकाे पढ्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरि तत्काल कारबाही फिर्ता गर्न विद्यालयलाई आग्रह गर्ने गरि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र एन्फा प्रतिनिधि बैठक बसेर निर्णय गरिएकाे शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए।

‘हामीले निस्कासनमा परेका छात्राहरुलाई पुन: स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइदिन स्कुललाई आग्रह गरेका छाैं,’ उनले भने, ‘सामान्य गल्ती कमीकमजोरीमा यति ठुलाे सजाय उति उपयुक्त नहुने हुँदा हामीले सबैले एकमतले निर्णय सच्याउन आग्रह गरेका हाैं।’

विद्यार्थीलाई कक्षा काेठामा फर्काउने गरि विद्यार्थी, अभिभावक, शिक्षक, स्वतन्त्र विद्यार्थी युनियन, विद्यालय व्यवस्थापन समितिले शिक्षा विकास तथा समन्वय एकाई जुम्लाकाे निर्णयलाई सदर गर्ने निर्णय गरेकाे जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताए।

उनले भने, ‘निर्वाध रुपमा सकारात्मक वातावरण सृजना गरेर निर्णय भएकाे छ। अब विद्यार्थी पढ्न पाउने भएका छन्। याे हामी सबैका निम्ति खुसीकाे कुरा हाे।’

साेमबार विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, निस्कासनमा परेका विद्यार्थी, विद्यार्थी नेताहहरु बसेर निस्कासनमा परेका छात्राहरुलाई कक्षाकाेटामा फर्कने वातावरण मिलाइएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राेकायाले बताए।

‘हिजाे स्कुलकाे निर्णय आवेगमा भएकाे हुँदा थाेरै अपरिपक्व भयाे। त्यसैले सच्याउनु परेकाे हाे,’ उनले भने, ‘अब विद्यार्थीहरु नियमित रुपमा पढ्न पाउनेछन्। विद्यार्थीहरु भाइबहिनीहरुले अनुशासन कायम राखेर पठनपाठनकाे वातावरण मिलाउनु हुनेमा विस्वस्त छु।’

जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निस्कासनकाे थियाे।