कर्णाली राजमार्ग अवरुद्ध : दैखाेलामा पुल बग्याे,गगने खोला,एस मोडमा सडकमै पहिराे

जुम्ला : लगातारकाे वर्षाका कारण कर्णाली राजमार्ग पूर्णरूपमा बन्द भएकाे छ । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएकाे हाे सुर्खेत- जुम्ला सडक खण्ड अन्तर्गत दैलेख र कालीकाेटका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडकमै पहिराेले पुरिएकाे छ ।

सडक डिभिजन जुम्लाका अनुसार राजमार्गको गगने खोला,एस मोड,दैखोला र मेहर खोलामा आएको बाढीले पहिरोले राजमार्ग अबरुद्ध भएको छ । दैखोलामा बाढीले पूलनै बगाएको छ । उक्त खोलामा एक मालबहाक ट्रक समेत फसेको छ ।

गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले तीन स्थानमा ठुलो पहिरो आएकाे बताए । यस्तै कालिकोटकाे हुल्म,जिते, जितेगडा,सेरिघाट लगायतका स्थानमा समेत पहिराेले सडक अवरुद्ध भएकाे छ ।

डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेकाे कार्यालयले जनाएकाे छ । सडक अबरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् ।