जुम्ला — तातोपानी गाउँपालिका–६, हियाखोलामा पानीका प्राकृतिक स्रोतहरू दिनानुदिन सुक्दै गएका छन् । गाउँको प्रमुख जलस्रोत मानिएका मुलहरू हराउँदै जाँदा स्थानीय जनजीवन मात्र होइन, खेतीपाती र पशुपालनसमेत ठूलो संकटमा परेको छ । जलवायु परिवर्तन, अनियमित वर्षा र बढ्दो वन फडानीलाई यसको मुख्य कारणका रूपमा देखाइएको छ ।

वन फडानी र यातायात विस्तारको असरको रुपमा रहेका छन् । हियाँखोलाका स्थानीय हरि बहादुर कामीका अनुसार पछिल्ला वर्षहरूमा गाउँ वरिपरिको वनक्षेत्रमा भइरहेको तीव्र फडानीले पानीका मुहान सुक्ने समस्या देखिएको हो । उनले भने,‘यातायात र सडक विस्तारसँगै वन फडानी बढेको छ । फलस्वरूप भूमिगत पानीका स्रोतहरू क्रमश : हराउँदै गएका छन् ।
अर्गानिक खेतीयोग्य जमिनमा समेत उत्पादन घट्दै गएको छ, जसले स्थानीयको खाद्य सुरक्षामै प्रश्न खडा गरेको छ ।’ वन फडानीले माटो संरक्षण कमजोर बनाउँछ र वर्षा भए पनि पानी जमिनभित्र जाने अवसर नपाई सतहमै बग्ने भएकाले मुलहरू खुक्दै जाने तथ्यलाई विज्ञहरूले समेत पुष्टि गर्दै आएका छन् ।
अनियमित वर्षा र हिउँ नपर्ने समस्या
त्यस्तै, स्थानीय कृष्ण रोकायाले मौसमीय चक्रमा आएको असामान्य परिवर्तनलाई मुल सुक्ने अर्को कारणका रूपमा देखाएका छन । उनले भने, ‘पहिला जस्तो हिउँदमा हिउँ पर्दैन, वर्खामा पनि समयमा वर्षा हुँदैन । हिउँ पानीको ठूलो स्रोत मानिन्थ्यो तर अहिले त्यो हराउँदै गएको छ । वर्षा ढिलो हुनु वा अत्यधिक हुनु दुवै अवस्थामा खेतीमा असर परेको छ ।’
अनियमित वर्षाका कारण एकातिर बाली सुक्ने, अर्कोतिर असिनापानी र पहिरो जस्ता विपत्तिले जनधन र सम्पत्तिमा क्षति पुर्याइरहेको स्थानीयको अनुभव छ ।
स्थानीय सरकारको दृष्टिकोण
तातोपानी गाउँपालिका–६ का वडा अध्यक्ष बिशाल खड्काले विश्वव्यापी जलवायु परिवर्तनकै असर स्थानीय स्तरमा स्पष्ट रूपमा देखिएको बताए । उनका अनुसार पानीका स्रोत सुक्नु, खेतीमा उत्पादन घट्नु, वातावरणीय सन्तुलन बिग्रनु जस्ता समस्याहरू जलवायु संकटकै प्रत्यक्ष परिणाम हुन् ।
उनले भने, ‘यसबाट बच्न समुदाय आफैं अग्रसर भएर वन संरक्षण र वृक्षारोपणमा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनसँग लड्न बाहिरी सहयोग मात्रै पर्याप्त हुँदैन, स्थानीयस्तरको पहल अनिवार्य छ ।’
युवामुखी सचेतना कार्यक्रम
जलवायु परिवर्तनका असरबाट बच्न र अनुकूलन उपायलाई समुदायमा फैलाउन सेभ द चिल्ड्रेन र सहयात्रा तेस्रो परियोजनाले स्थानीय युवालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । परियोजनाका दिपेश आचार्यका अनुसार, युवालाई सचेत बनाए जलवायु संकटविरुद्ध लामो समयसम्मको प्रभावकारी पहल गर्न सकिन्छ ।
उनले भने,‘समुदायस्तरमा अभिमुखीकरण, प्रशिक्षण र सचेतना कार्यक्रम सञ्चालन गरेर युवालाई नेतृत्व दिने उद्देश्य लिइएको छ । यदि अहिलेबाटै सचेत हुन सकियो भने भविष्यमा केही हदसम्म सुधार सम्भव छ ।’
भविष्यप्रतिको चिन्ता
हियाखोलाका पानीका स्रोत सुक्दै जानु केवल प्राकृतिक समस्या मात्र नभई सामाजिक र आर्थिक संकटसमेत हो । खानेपानीको अभाव, खेतीमा गिरावट र पशुपालनमा देखिएको चुनौतीले यहाँको जीवनयापन थप कठिन बनाएको छ । यदि समयमै संरक्षणका उपाय अपनाइएन भने गाउँमा पानीको ठूलो संकट देखापर्ने र स्थानीयलाई बसाइँसराइ गर्न बाध्य पार्ने अवस्था आउन सक्ने स्थानीयको भनाइ छ ।
निष्कर्ष
तातोपानी गाउँपालिका–६, हियाखोलामा पानीका मुल सुक्नु जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम हो । वन फडानी नियन्त्रण, वृक्षारोपण, पानीका स्रोत संरक्षण, र सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउन सकेमा भने यस समस्यामा केही हदसम्म कमी ल्याउन सकिने विश्वास गरिएको छ । युवाको सक्रियता, स्थानीय सरकारको योजना र समुदायको एकताबद्ध प्रयासमार्फत मात्र हियाखोलाका सुक्दै गएका पानीका मुलहरूलाई जोगाउन सकिने देखिन्छ ।

डिल्ली कामी । २९ भाद्र २०८२, आईतवार २०:४८