जुम्ला,१४ साउन
जुम्लाका महिला पछिल्लो समयमा रैथाने अन्नबालीबाट विभिन्न प्रकार परिकार बनाउन सीप सिक्न सक्रिय भएका छन् । यहाँको चन्दननाथ नगरपालिका भित्रका २३ जना महिलाहरुले रैथाने अन्नबालीबाट बेकरीका परिकार बनाउन सक्रिय भएका हुन् । रैथाने बालीबाट बन्ने विस्कुट, केक, पिजा, नमकिन, जेरी, जाम, पुष्टकारी, ब्रेट, स्याउका परिकार बनाउन सीप सिक्न लागेको उनीहरु बताउँछन् ।
जिल्लाको रैथाने बालिको संरक्षण गर्न र महिलाहरुलाई ब्यवसायिकरणतर्फ आकर्षण गर्नेका लागि १० दिने क्षमता अभिवृद्धिका लागि सीपमुलक तालिमले उनीहरुलाई सीप सिक्न राहत पुगेको हो ।
वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा रैथाने बालिबाट बन्ने परिकारका बिषयमा सीपमुलक तालिम सञ्चालन गरिएको किर्डाक नेपाल जुम्लाका मिडिया थिम लिडर गोर्खवहादुर थापाले बताए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले विवाहमा जाँदा कोसेलीका रुपमा रैथाने बालीका परिकार लिदाँ अर्गानिक बालीको महत्व र प्रचार हुने बताए । उनले तालिम लिएर मात्रै नहुने भन्दै सीपलाई व्यवहारमा लागु गरेपछि तालिम दिएको अर्थ हुने बताएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जुम्लामा पहिलो पटक सञ्चालन भएको यस्तो खालको तालिमले महिलाको जीवनमा परिवर्तन ल्याउनेमा महत्वपुर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरिन् ।
जिल्लामा आउने विभिन्न पर्यटकलाई रैथाने बालिबाट बनेका परिकार खुवाउन सकिए आम्दानीको स्रोत वृद्धि हुने यहाँका सरोकारवालाको धारणा रहेको थियो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले रैथाने बालिको संरक्षण गर्ने उद्देश्यले संचालन गरिएको तालीम निकै प्रभावकारी भएको बताएका थिए ।
जुम्ला दर्पण । १४ श्रावण २०७९, शनिबार १५:३०