जुम्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन

जुम्ला : सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।

१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ ।

मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् । तीमध्ये कणर्णाली प्रदेशका १३ स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती मध्ये दैलेखकाे भवगतीमाई गाउँपालिकामा नारायणजंग पाण्डे,दैलेखकै नाैमुले गाउँपालिकामा दमन दाहाल आउने भएका छन् । यस्तै  सुर्खेतकाे चाैकुने गाउँपालिकामा नगेन्द्र प्रसाद रिजाल प्रमुखकाे रूपमा आउने भएका छन् ।

जुम्लामा आठ स्थानीय तहमध्ये जुम्लाका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।

जुम्लाकाे पातारासी गाउँपालिकामा झलकराज जाेशी,गुठीचाैर गाउँपालिकामा मनिषा खरेल र हिमा गाउँपालिकामा संगीता धिताल आउने छन् ।

यसैगरी,सल्यानकाे कुमाख गाउँपालिमामा खङ विक,कालीकाेटकाे सान्नीत्रिवेणी गाउँपालिकामा प्रेमबहादुर बडुवाल,शुभकालिका गाउँपालिमा जनक शर्मा,पचाल झरना गाउँपालिकामा खड्क बहादुर परियारकाे आगमन हुनेछ ।

हुम्लाकाे सिमकाेट गाउँपालिकामा सुमन खड्का,सर्केगाड गाउँपालिकामा किरण कुमार केसी,जाजरकोटकाे कुशे गाउँपालिकामा विकास परियारलाई खटाइएकाे छ ।