जुम्ला : प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा पूर्वाग्राह भएको भन्दै प्रेस चौतारीले शाखामा तालाबन्दी गरेको हो । प्रेस चौतारी जिल्ला शाखा जुम्लाका अध्यक्ष अध्यक्ष नौरते नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा पेशागत सुरक्षालाई गौण ठानी संस्थागत छविलाई धमिल्याउने गरी राजनीति घुसाई नेपाल प्रेस युनियन र प्रेस सेन्टरमा आवद्ध भएकाहरुलाई नियम विपरित सदस्यता प्रदान गरिएको उल्लेख गरिएको छ ।
यस्तै प्रेस चौतारी नेपालमा आवद्धता राख्नेहरुलाई छानिछानि सदस्य नविकरण तथा नयाँ सदस्यता प्रदान गर्ने विषयमा नियत देखिएको हुनाले तालाबन्दी गरिएको उनले बताए । पत्रकारीताको मर्यदालाइ जोगाई राखेका पत्रकारहरुलाई राजनीतिक कुदृष्टिले संगठित हुने अधिकारबाट बञ्चित गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धिकरण गर्दै व्यवसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा महासंघलाई विकास गर्न चौतारी दृढ रहेको स्मरण गराईएको छ ।
तर, नेपाल पत्रकार महासंघले निर्धारण गरेको १५ बुँदे मापदण्ड, २०७९ पुष ८ र ९ गते सुर्खेतमा सम्पन्न साधारणसभाबाट गरिएको सर्वसम्मतको निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनका बिच भएको सहमति र भावना विपरित सदस्यता वितरण तथा नविकरण गरिएको हुनाले तालाबन्दिको स्थितिमा पुग्न बाध्य भएको अध्यक्ष नेपालीको भनाइ छ । महासंघद्धारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले अनुरोध गरेको छ ।
सदस्यता नविकरण तथा वितरणको सार्वजनिक सूची नसच्याएसम्म कडा आन्दोलन गर्न चौतारी तयार रहेको प्रेस विज्ञप्तिमा लेखिएको छ । महासंघले मुल्य, मान्यता, प्रणाली, विधान र नियमावली विपरित वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथि प्रश्न उठ्ने गरी कदम चालेको प्रेस चौतारी जिल्ला शाखा जुम्लाको ठहर छ ।
जुम्ला दर्पण । २८ आश्विन २०८०, आईतवार १६:५१