जुम्ला । जुम्लाका पत्रकार सागर परियार ‘सर्वाेकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत भएका छन् । उत्कृष्ट काेदाेजन्य समचार लेखन मार्फत पत्रकार परियारलाई सर्वाेकृष्ट पत्रकार पुरस्कार प्रदान गरिने भएकाे हाे ।
शुक्रबार नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसाेसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा आयाेजित काेदाे दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा सर्वाेकृष्ट पत्रकार पुरस्कार पाउने सागर परियार सहित पाँच जना पत्रकारकाे नाम घाेषणा गरिएकाे छ ।
राष्ट्रिय कोदो दिवसको अवसरमा, ‘कोदो समाचार लेखन पुरस्कार – २०८२’ अन्तर्गत पत्रकारहरूलाई पनि पुरस्कृत गरिएको हाे ।
आयोजक संस्था अनाजले सातै प्रदेशका पत्रकारहरूलाई समाचार सामग्री उपलब्ध गराई सहभागीता जनाउन आह्वान गरेकाे थियाे । देशैभरीबाट प्राप्त आवेदन मध्ये पाँज जना उत्कृष्ट पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएकाे अनाजले जनाएकाे छ ।
पुरस्कृतहरूकाे नाम शुक्रबमर काेदाे दिवस मुल समाराेहमा घाेषणा गरिएकाे हाे । जस अनुसार जुम्ला सहित कर्णाली प्रदेशलाई केन्द्रमा राखेर करिब एक दशकदेखी पत्रकारिता गर्दै आएका कर्णाली मिसनकर्मी सागर परियारलाई ‘सर्वोकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत गरिने घाेषणा गरिएकाे हाे । काराेबार दैनिक र रेडियाे नेपालका संवाददाता समेत रहेका परियारलाई उत्कृष्ट लेखनबारे पुरस्कार छनाेट समिति ‘सर्वाेकृष्ट पत्रकार’ पुरस्कारका लागि छनाेट गरेकाे हाे ।
त्यस्तै बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कोशिला कुँवर ‘उत्कृष्ट पत्रकार’का रूपमा पुरस्कृत हुने भएका छन् ।
सुर्खेत र कर्णाली प्रदेश केन्द्रमा राखेर पत्रकारिता गरिरहेका नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराकाे रेडियो अमरगढीकी कार्यक्रम संयाेजक भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएकाे हाे ।
गत वर्षदेखि अनाज पहलकदमीमा काेदाेजन्य बालीमा कलम चलाउने पत्रकारहरू पुरस्कृत गर्न थालिएकाे हाे । पुरस्कृत पत्रकारलाइ पछि छुट्टै कार्यक्रम गरेर कृषि मन्त्री मार्फत पुरस्कार उपलब्ध गराइने भएकाे छ । पुरस्कारकाे रासी बारे आयाेजकले खुलाएकाे छैन् ।
साथै गत वर्ष पनि ६ जना पत्रकार पुरस्कृत भएका थिए ।जसमा हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल,अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा,मदन पौड्याल,आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवादता रबि थापा र रातोपाटीडटकमकी संवाददाता सरिता थारुलाई कोदो समाचार लेखन प्रोत्साहन पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
गत वर्षसम्म अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो। राष्ट्रिय दिवसको रूपमा स्थापना भएपछि कोदोलाई अझ संस्थागत र वैज्ञानिक रूपमा प्रवर्द्धन गर्न सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

डिल्ली कामी । १८ श्रावण २०८२, शनिबार ०६:५५