जातीय विभेद गरेकाे कसुरमा पूर्व वडाअध्यक्षका छाेरा पक्राउ

जुम्ला : जातीय विभेद मुद्दामा दाेषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत,जुम्ला इजालासले दाेषी ठहर गरेका

सिञ्जा गाउँपालिका वडा नंं ६ का नवीन बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीयसपी छेदीलाल कामतीका अनुसार बुढालाई उनकाे घरबाट पक्राउ गरिएकाे हाे ।

साेही वडाका विवेन्द्र नेपालीले तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढा र उनका छाेरा नवीन बुढाविरूद्व जातीय विभेद गरेकाे आराेपमा  जिल्ला प्रहरी कायर्यालय जुम्लामा  २०७८ असार २६ गतेमुद्दा दर्ता गरेका थिए ।

सिन्जा-६ का तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले उन्मुक्ति दियाे । उनका छाेरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना  र २५ क्षतिपूर्ति पीडितलाई दिने फैसला गरेकाे थियाे ।

वडाअध्यक्ष बुढालाई  अदालतले उन्मुक्ति दिएपछि नेपाली दुवैजनालाई कारबाही माग गर्दै उच्चमा गएका थिए । उच्चमा २०७८ साउन २७ गते मुद्वा दर्ता गरेकाे थियाे ।

उच्च अदालतले २०८० जेष्ठ १८ गते उक्त मुद्वामा फैसला गर्दै नवीन बुढालाई तीन महिना बीस दिन र २० हजार जरिवाना कैद सुनाएकाे थियाे ।

उनी अदालतकाे फैसला लगत्तै फरार रहेका थिए । लामाे समय फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरिएकाे कामतीकाे भनाइ छ ।

बुढा पक्राउ परेपछि आफूले न्याय पाएकाे महशुस भएकाे नेपालीले प्रतिक्रिया दिएका छन् । जातीय विभेद तथा सजाय कसुर ऐन २०६८ अनुसार जातका आधारमा गरिने कुनैपनि विभेद कानुन अनुसार दण्डनीय मानिने उल्लेख गरिएको छ । बुढालााई कारागार चलान गरिएकाे छ ।