तातोपानीका वडा-वडामा सार्वजनिक सुनुवाइ सुरू,पहिलोपटक वडा नम्बर २ मा सम्पन्न

जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका वडा नम्बर २ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । बुधबार २ नं.वडा कार्यालयकाे आयाेजना र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे हाे ।

सार्वजनिक सुनुवाइको अवसरमा  आ.व. २०८०/०८१ मा  २ नं. वडामा लागू गरिएका कार्यक्रम र सम्पन्न याेजनाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।

वडाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ताताेपानी गाउँपालिका २ नं.वडाका वडा सचिव तेज बहादुर रावतले आ.व. २०८०/०८१ मा  कुल १५ वटा याेजना कार्यान्वयन गरिएकाे बताए । उनका अनुसार कुल ५० लाख लागतका १५ वटै याेजना सम्पन्न भएका छन् ।

उनले  ५ लाख लागतमा बाबिरा मष्ट मन्दिर फिल्ड निर्माण र ढलान,जर्मीगाउँमा ८ लाख लागतमा कर्णाली राजमार्गदेखि तातोपानी धारासम्म रेलिङ र टायल व्यवस्थापन र कुल ६ लाख बजेटमा वडाभित्रका चार वटा आधारभुत विद्यालय व्यवस्थापनमा खर्च गरिएकाे  उनले बताए ।

यस्तै समान ५/५ लाख लागतमा गाेप्थाडागाउँमा  सिंचाइ कुलाे,जर्मीगाउँमा कर्णाली राजमार्गदेखि चिहानघाटसम्म बाटाे पिसीसी,डाँगीबाडा र सुन्दर गाउँमा गाेरेटाे बाटाे ग्याविन निर्माण र धुनचेडीदेखि हिमाली आविसम्म ३ लाख लागतमा सडक मर्मत भएकाे छ ।


यसैगरी सूचना सञ्चार, लक्षित वर्ग कार्यक्रम,विपद् व्यवस्थापन र  सिकाई अनुभव अवलोकन याेजना सम्पन्न भएकाे वडासचिव रावतकाे भनाइ छ ।

मुख्यमन्त्री राेजगार कार्यक्रम अन्तर्गत १५ लाखमा कर्णाली राजमार्गदेखि हिमशिखर माविसम्मकाे बाटाे आरसीसी,प्रधानमन्त्री राेजगार कायर्यक्रम अन्तर्गत ८ लाखमा बाबिरा मष्ट मन्दिरकाे फिल्ड निर्माण तथा ढलान सम्पन्न भएकाे छ ।

यसैगरी, जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत जर्मीगाउँमा ५ लाख लागतमा मुनबाडादेखि ताहा बाडासम्म गाेरेटाेबाटाे पिसीसी,जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा ५ लाखमा सुन्दरगाउँ गाेरेटाे बाटाे पिसीसी गरिएकाे छ ।

आ.व. २०८०/०८१ मा तातोपानी गाउँपालिका २ नं.वडाले
१ लाख ३३ हजार ६ सय ६२ रूपैयाँ राजस्व संकलन गरेकाे थियाे । साेही आ.व.मा कुल ४ सय ८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

उक्त अवसरमा तातोपानी धारा व्यवस्थापनकाे समेत आयव्यय प्रस्तुत गरिएकाे थियाे । दुई वर्षकाे अवधिमा तातोपानी धाराबाट १५ लाख ३७ हजार १ सय ८ रूपैयाँ  राजस्व संकलन भएकाे जानकारी गराइएकाे छ ।


सार्वजनिक सुनुवाइकाे अवसरमा ६ जना स्थानीयले वडाकाे सेवा प्रवाहका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए । स्थानीय तहका जिज्ञासामा जवाफ दिदै वडाअध्यक्ष चन्द्रमान बुढाले स्थानीय नागरिककाे चाहना र आवश्यकतामा आधारित भएर याेजना अनुसार याेजना कार्यान्वयन गरिरहेकाे बताएका थिए ।

सार्वजनिक सुनुवाईकाे क्रममा बाेल्दै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले समृद्ध र विकासित तातोपानीका लागि सबैकाे भुमिका अहम रहेकाेमा जाेड दिए ।

गाउँपालिका उपाध्यक्ष रेवती रावलका अनुसार वडास्तरबाट सञ्चालन हुने याेजनामा जनताकाे अर्थपूर्ण सहभागीता हुन आवश्यक छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनता,कर्मचारी र जनप्रतिनिधिकाे सहकार्यमा समृद्ध पालिका निर्माणमा हातेमालो आवश्यक छ ।

उक्त अवसरमा तातोपानी गाउँपालिका २ नम्बर वडाका स्थानीय,समाजसेवी,बुद्धिजीवी तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।