जुम्लाको गुठीचौर–५ कुम्डी गाउँ । सुन्दर प्रकृतिको काखमा अवस्थित छ । गाउँ नजिकै जंगल छ । गाउँसँगै जोडिएका छन्,खेतीयोग्य फाँटहरु ।
अनि सलल बगिरहेको छ,अबिरल तिला नदी । समयसँगै विस्तारै विकास हुँदैछ । गाउँमा कालोपत्रे सडक पुगेको छ । परम्परागत घरहरु हराउँदैछन् । टिनका छाएका घरहरुको संख्या बढ्दो छ ।
जहाँ,क्षेत्री र दलित समुदायको बसोबास छ । क्षेत्री समुदायका भण्डारी र दलित समुदायका परियारहरुको बाहुल्य छ । करिब १५० घरघुरी छन्,कुम्डी गाउँमा । ती मध्ये दलित समुदायका मात्रै ४५ घरघुरी छन् ।
जातीय अन्तरघुलनको चरम नमुना भेटिन्छ, कुम्डी गाउँमा । परियार र भण्डारीहरु एकअर्को समुदायका छिमेकी छन् । जिउँदाको जन्ती र मर्दाको मलामी हुन्,उनीहरु । प्रस्तुत छ, कुम्डी गाउँमा हुर्किएका एक भुईँमान्छेका तीन घुम्ती ।
ती भुईमान्छे हुन्,महेन्द्र परियार । दुःखैदुःखको पहाड छिचोलेका महेन्द्रको दुःख,संघर्ष र सफलताको कथा हो ।
२४ वर्षअघि यहीँ कुम्डी गाउँका जन्मिएका हुन्,महेन्द्र परियार । आमा लक्ष्मी परियार र स्वर्गीय बुवा लालबहादुर परियारका जेष्ठ सुपुत्र हुन् । निम्न वर्गीय परिवारमा जन्मिएका महेन्दले प्रारम्भिक शिक्षा संस्थागत विद्यालयबाट सुरु गरे ।
गाउँमै सञ्चालित नेत्रज्योति बोर्डिङ स्कुलमा युकेजीसम्म अध्ययन गरे । त्यसपछि भने सरकारी विद्यालय त्रिभुवन माध्यमिक विद्यालयमा पढे । वि.स. २०७३ सालमा त्रिभुवन माविबाटै एसएलसी उर्तीण गरे ।
वि.स.२०७५ सालमा शिक्षा संकायमा प्लस टुसम्म अध्ययन गरेका महेन्द्रले त्यसपछि भने बाली विज्ञान रोजे । त्रिभुवन माविमै छात्रवृत्तिमा बाली विज्ञान अध्ययन सुरु गरे ।त्यसपछि उनले तीनपटकसम्म लोक सेवा भिडे । तेस्रो प्रयासमा आफू सरकारी सेवामा प्रवेश गर्न सफल भएको महेन्द्र बताउँछन् ।२५ औँ बसन्त लाग्दै गरेका उनी हाल,बाँके राष्ट्रिय निकुञ्जमा गेम स्काउट पदमा कार्यरत छन् ।
यहीँ वर्ष कुम्डी गाउँको पहिलो दलित समुदायको सरकारी जागिरेको इतिहास रचेका महेन्द्रको यसपटक पटकको दिपावली अभूतपूर्ण रहयो ।
सरकारी जागिरमा नाम निकालेपछि पहिलोपटक जन्मघर आइपुगेका उनलाई दिपावलीको छेकोमा गाउँमा भव्य स्वागत गरियो । बाजागाजासहित कुम्डी गाउँले उनलाई न्यानो स्वागत ग¥यो । कार्तिक १५ गते पंक्तिकार कुम्डीस्थित महेन्द्रको घरपुग्दा उनलाई बधाई दिनेको ओइरो थियो ।
दोसल्ला र अबिरसहित उनलाई बधाई ज्ञापन गर्नेहरुको आर्शिबाद हुन्थ्यो,‘सरकारी जागिरे भएकोमा बधाई । गाउँको इज्जत राखिस् । एक्ली आमालाई दुःख नदिनु ।’
घरमै पुगेर बधाई ज्ञापन गर्नेहरुको आर्शिबादपछि महेन्द्र खुसी देखिन्थे । भित्री मनैदेखि पुलकित भएको उनको अनुहारमा प्रष्टै देखिन्यौ । छेउमै बसिरहेकी आमा लक्ष्मी हर्षले विभोर देखिन्छन् । ७७ वर्षीया बृद्ध महेन्द्रकी बज्यै आइतु परियारको चाउरी परेको अनुहारमा खुसी सञ्चार भएको देखिन्थ्यो ।
गाउँलेहरु पनि महेन्द्रको परिवार भन्दा कम्ता खुसी देखिएका थिएनन् । निकै रमाइलो माहोल थियो,महेन्द्रको झुपडीमा । निकै वर्षपछि खुसी भएको थियो,महेन्द्रको घरमा । वर्षौ भएको थियो,घरबाट खुसी हर्ष हराएको । त्यो खुसी अब फर्किएको महेन्द्रका घरमा ।
१२ वर्षपछि खोलो फर्किन्छ भने झैँ २०६६ सालमा हराएको खुसी फिर्ता ल्याएका थिए,महेन्द्रले । बुवा गुमाएको पीडा महेन्द्रलाई भन्दा कसलाई होला ।
कलिलो जोवनमै श्रीमानको साथ छुट्दाको दुःखको महशुस लक्ष्मीलाई भन्दा कसलाई होला । एक सातामै एकै परिवारका तीन जना सदस्य गुमाउँदाको कुरा सुन्दापनि सम्हाल्न गाह्रो हुन्छ ।
यस्तै दर्दनाक यर्थाथ भोगेका छन्, महेन्द्रले । एकैपटक बाजे,बाबा र अंकल गुमाउँदाको त्यो सफेद तितो सत्य सम्झिदापनि भक्कानिन्छ महेन्द्रको परिवार ।
महेन्द्रहरुले भोगेको त्यो कालो दिन ‘असोज २०’
वि.स.२०६६ असोज २० गते अर्थात महेन्द्रहरुले भोगेको त्यो कालो दिन । यस्तो नियती सायदैले भोग्छन् जिन्दगीमा । तर, महेन्द्रहरुकोले नियतीले भोग्यो । त्यो दर्दनाक सत्य ।
असोज २० गते दिउँसो तिर ललित परियार (महेन्द्रका माइला अंकल) टिम्मा बगाउन गाउँ नजिकैको तिला नदीतिर गएका थिए । केही छिनमा उनी नदीमा बगेको खबर आयो । ललितसँगै गएका साथीहरुले उनी पानीमा बगेको अशुभ समाचार सुनाए । खोजी गर्दा भेटिएन् । उनी मृत अवस्थामा फेला परे ।
असोज २५ गते रातीको समयमा घरबाट निस्केका लालबहादुर परियार (महेन्द्रका बुवा) हाँकुको नदीमा मृत अवस्थामा भेटिए । त्यो कालो दिनबारे महेन्द्रकी आमा लक्ष्मी परियार सुनाउँदिन्,‘देवरको किरिया बसेका थिए । सबै गाउँले घरमा आएका थिए । त्यहीँबेला सबैलाई चिया बनाउ भने ।’
उनका अनुसार त्यहीँबेला लालबहादुर एक्कासी घरभन्दा बाहिर निस्किए । श्रीमान बाहिर निस्कदाँ आफू चिच्याएको उनले बताइन् । रातीको समय निकै अध्याँरो थियो । घरमा बसेका छिमेकीहरु बाहिर निस्किए । लक्ष्मी भने एक्लै धेरै परसम्म गइन् । तर भेटाइन् । पछि गाउँलेहरु कोही नदीतिर गए ।
कोही जंगलतिर गए । कसैले गाउँमै खोजे । रातभर खोज्दापनि कतै भेटिएनन् । भोली पल्ट नै हाँकु गाउँ नजिकै रहेको नदीमा लालबहादुर मृत अवस्थामा फेला परेको दुःखद घर आयो । पछि सबै गाउँलेहरुले राती लास घर ल्याए । त्यतिबेला लालबहादुरका भाई ललितको मृत्यु भएको एकसातापनि बितेको थिएन ।
एकैपटक आफ्ना दुई सन्तान गुमाउँदाको पीडा कुन चाँही अभिभावकलाई हुँदैन होला । ७७ वर्षीया आइतु परियारका श्रीमानलाई मात्रै थाहा होला, त्यो पीडा, त्यो बर्जपात र अनि त्यो अभूतपूर्व दुःखद क्षण । जीवनभर अभावै अभाव झेलेका बिर्ख परियार (महेन्द्रका बाजे) ले त्यो बर्जपात सहनै सकेनन् ।
आँखै अगाडी दुई जना छोराको मृत्यु देखेका उनको पीडा महशुस गर्दा मात्रैपनि त सहन सकिदैन । उनले त भोगे । लक्ष्मीका अनुसार एक्कासी बिसन्चो भएको बताए । भोलीपल्ट गाउँकैले एक जना छिमेकीसँग एक हजार रुपैयाँ सापटी गरेर अस्पताल पु¥याइन् ।
दुई वटा छोरा गुमाउँदाको असह्य पीडा सहन नसकेर असोज २८ गतेका दिन बिर्ख परियारले पनि अन्तिम स्वास फेरे । कुनै चलचित्रको कथा जस्तो लाग्ने यो सत्य घटना हो । जुन महेन्द्रको परिवारले भोग्न बाध्य भयो ।
त्यो दर्दनाक घटना सुनाउँदा लक्ष्मी र महेन्द्रका आँखा रसाए । ७७ वर्षीया बृद्धा आइतुले आँशु थाम्न सकिनन् । छिमेकीहरुले समेत भक्कानिए । खुसीयाली वातावरण एकाएक सुनसान बन्यो ।
अभूतपूर्व खुसी र हर्षले पुलकित छन्,लक्ष्मी र आइतु
जुनदिन लक्ष्मीको सिउँदो पुछियो । त्यहीँदिनदेखि लक्ष्मीका दुःखका दिन सुरु भए । महेन्द्रहरुको सम्पूर्ण जिम्मेवारीको भारी लक्ष्मीको थाप्लोमा आयो । देवरको मृत्यु भएको केही वर्षपछि देउरानीले अर्को विवाह गरेपनि बेसाहारा बनेका दुई छोराछोरी हुर्काउने बाध्यता आइलाग्यो ।
महेन्द्रकी आमाले देवरको छोराको अहिलेपनि पालनपोषण गरिहेकी छन् । ललितकी छोरी भने फूपुको घरमा बस्दै आएकी छन् । ज्याला मजदुरी गरेर उनले सन्तानहरु हुर्काइन् । कहिल्यै राम्रो लाइनन् । मीठो मसिनो खाइनन् । सन्तानको खुसीको लागि आफ्ना सबै खुसीहरुलाई तिलाञ्जली दिइन् ।
अहिले भने लक्ष्मीको घरमा खुसीको बहार आइपुगेको छ । महेन्द्रले कुम्डी गाउँकै पहिलोपटक सरकारी जागिर निकालेपछि उनीभन्दा खुसी को होला । यो हर्ष र खुसीको प्रमुख हकदार नै हुन्,लक्ष्मी ।
उनी भन्छिन्,‘कठै बरै, पहिलो कस्तो थियो । अहिले यस्तो भयो । मेरो छोरालाई कसरी अघि बढाउने भनेर पढाउन पाएको भए । लेखाउन पाएको भए,सोच्थे । अहिले भने म धेरै खुसी छु ।’
जेठो छोरा सरकारी जागिरे भएका छन् । कान्छो छोरा भने वैदेशिक रोजगारीका लागि हाल मलेसिया छन् । आज उसका बाबा भएको भए कति खुसी हुन्थे होला । ‘मेरो छोराले अहिलेसम्म राम्रै गरेका छन् । आमा भन्दै मीठो वचन गरेका छन् । अझै प्रगती गरुन्,’ भन्दै लक्ष्मी निकै भक्कानिइन् ।
यता आइतु परियारमा पनि खुसीको सीमा नै छैन, नातीको प्रगतिमा । उनका अनुसार धेरै पछि नातीसँग बसेर सिस्नोको झोल खाँदापनि चौरानी व्यञ्जन खाएको जस्तो अनुसार छ ।
महेन्द्र आफ्नो सफलताको श्रेय आमा काका,मामा र आफन्तहरुलाई दिन्छन् । सफलताको एक अंश स्वर्गीय पिताप्रति समर्पित गरेका छन् ।
दलित काेटाबाट आमा जनप्रतिनिधि र छाेरा सरकारी जागिरे
कुम्डी गाउँमा दलित समुदायबाट पहिलो सरकारी जागिरेकाे इतिहास रचे,महेन्द्रले । उसाे त उनकी आमा लक्ष्मी परियार पूर्व जनप्रतिनिधिसमेत हुन् ।
उनी पनि कुम्डी गाउँकी पहिलो निर्वाचित दलित महिला सदस्य हुन् । उनी २०७४ काे स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।
दुवैजना संविधानमै उल्लेख गरिएकाे समावेशीता अनुसार दलित काेटाबाट जनप्रतिनिधि र सरकारी जागिरे भएका हुन् ।
महेन्द्रले सरकारी जागिर निकालेपछि उनकै घरमा पुगेर बधाई ज्ञापन गरेका कुम्डी गाउँका स्थानीय समेत रहेका नेकपा माओवादी केन्द्र जुम्लामा इन्चार्ज नरेश भण्डारी महेन्द्र र लक्ष्मीले प्राप्त गरेकाे उपलब्धि जनयुद्धको उपज भएकाे बताउँछन् ।
महेन्द्रलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,`गरिब दलित समुदायमा जन्म लियौ, सानैमा बुवा गुमायौ । दुःखका पहाड छिचोल्दै आगनमा स्थापित त्रिभुवन माध्यमिक विद्यालयमा बाली बिज्ञान विषयमा डिप्लोमा तह छात्रबृतिमा उत्तिर्ण गर्यौ । कुम्डी गाँउको यो समुदायबाट सरकारी सेवामा प्रवेश पाउने पहिलो ब्यक्ति बन्यौ । ´महेन्द्रकाे घरमा छाएकाे खुसीयालीमा आफूलाई पाएकाे उनकाे भनाइ छ ।
जनयुद्ध नभएको भए महेन्द्र र महेन्द्र जस्ता सीमान्तकृतहरूले झै अध्ययन तथा सरकारी सेवामा अघोषित निषेधको पीडा भोगिरहन बाध्य हुने थियौ उनले भनेका छन् ।
`हाम्रो पार्टीबाट दलित कोटामा निर्वाचित जनप्रतिनिधि बन्ने अवसर पनि तिम्री आमालाई मिल्यो । दलित कोटाबाटनै सरकारी सेवामा प्रवेश गरेर राष्ट्र सेवक बन्ने पहिलो अवसर पनि तिमीले पायौं ।´ उनले भने ।
शुभाकर विश्वकर्मा । २३ कार्तिक २०८१, शुक्रबार १९:५२