जुम्लामै पहिलोपटक वडास्तरमा सार्वजनिक सुनुवाइ गर्ने स्थानीय तह बन्याे तातोपानी

जुम्ला  : जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् । सात गाउँपालिकामध्येकाे एक हाे, तातोपानी गाउँपालिका । गाउँपालिकामा आठवटा वडा रहेका छन् ।

जिल्लामा पहिलोपटक वडास्तरमा पुगेर सार्वजनिक सम्पन्न गनर्ने पहिलो स्थानीय तह बनेकाे छ, तातोपानी गाउँपालिका । तातोपानीमा असाेज पहिलो साताबाट सुरू भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सकिएकाे छ ।

वडा नम्बर ७ मा आ.व.२०८०/०८१ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएसँगै जिल्लामा पहिलोपटक वडास्तरमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे हाे ।

यसअघि साेमबार वडा नम्बर ८ र अन्य वडामा सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेकाे छ । जिल्लामा अन्य स्थानीय तहमा वार्षिक रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गरेपनि जिल्लाका कुनैपनि स्थानीय तहमा अहिलेसम्म वडास्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएका छैनन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत वडास्तरमा पुगेर नागरिकका गुनासा सुन्ने अभियानका रूपमा प्रयाेग गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

अध्यक्ष नन्दप्रसाद चाैलागाईँका अनुसार स्थानीय सरकारका राम्रा काम, भएका उपलब्धि नागरिकलाई सुनाउने र बस्तीस्तरका समस्या,गुनासा सुन्नकाे लागि वडास्तरमा पुगिएकाे हाे ।

गाउँपालिकाका आठवटै वडामा पुग्दा धेरै कुराकाे नयाँ सिकाइ हुनुका साथै नागरिकका समस्या सुन्ने अवसरमा मिलेकाे उनकाे भनाइ छ ।

अध्यक्ष चाैलागाईले भने,` हामी जिल्लामै पहिलोपटक वडास्तरमा पुग्याै । सावर्जनिक सुनुवाइ कार्यक्रम भए । नागरिकका तमाम समस्या सुन्ने र बुझ्ने अवसर मिल्याे । आगामी दिनमा याेजना तर्जुमा गर्दा वडास्तरमा उठेका सवालहरूलाई प्राथमिकता दिइनेछ ।´

आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले आफूहरूले चुनावका बेला गरेका प्रतिबद्धता अनुसार नागरिकका समस्या सुन्ने अवसरमा रूपमा कार्यक्रम प्रभावकारी भएकाे बताइन् ।

उनका अनुसार उक्त अवसरमा नागरिकका वास्तविक समस्या बुझ्ने अवसर मिलेकाे छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनता,जनप्रतिनिधि र कर्मचारीहरूकाे सम्बन्धबारे बुझ्ने अवसर मिलेकाे बताए ।

सार्वजनिक सुनुवाइमा नउठेका तर,वडास्तरमा हुने गरेका वेथितिका विषयमा गुनासाे गर्न विभिन्न माध्यम प्रयाेग गर्न अनुराेध गरे ।
तातोपानी गाउँपालिका लिताकाेट,जुम्लाकाे आर्थिक सहयोग र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा ताताेपानीका सम्पूर्ण वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।