भुमि आयोग जुम्लाको अध्यक्षमा सुरत बहादुर शाही नियुक्त

शाहीले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका समस्या समाधान गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न र सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

भुमि आयोग, जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा सुरत बहादुर शाही नियुक्त भएका छन। तातोपानी गाउँपालिका -८ का शाहीलाई भूमि व्यवस्थापन र भूमिहीनहरूको समस्या समाधानका लागि जिम्मेवारी दिइएको हो।

अध्यक्ष नियुक्त भएपछि शाहीले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका समस्या समाधान गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न र सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। उनले भने, “नापी, मालपोत कार्यालय, स्थानीय तह, नागरिक समाज र राजनीतिक दलहरूसँग समन्वय गरी कार्यलाई प्रभावकारी बनाउनेछु।”

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट नियुक्ति पत्र बुझेका शाहीले जिल्लामा भूमिहीनहरूको पुनर्स्थापना र राहतलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले जिल्लाका ८ वटै स्थानीय तह र ६० वडाका वडाध्यक्षहरूसँग सहकार्य गरेर भूमि समस्याको दीर्घकालीन समाधान गर्ने योजना सुनाए।

भूमि आयोग गठनसँगै जिल्लामा सरकारी जग्गा संरक्षण र भूमिहीनलाई राहत हुने अपेक्षा गरिएको छ। शाहीले केही दिनमै कार्यक्षेत्रमा फर्किएर आफ्नो जिम्मेवारी प्रारम्भ गर्ने जनाएका छन्।