जुम्लाकोटमा रहेको पशुसेवा केन्द्र कर्मचारी विहिन-jumladarpan.com

जुम्ला -तिला गाउँपालिका – ८ जुम्लाकोटमा रहेको पशुसेवा केन्द्र कर्मचारी विहिन भएको छ। कर्मचारी विहिन हुँदा एक वर्षदेखि सो केन्द्र बन्द भएको हो । स्थानीय स्तरमै पशुपन्छीलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको पशुसेवा केन्द्र एक वर्षदेखि वन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
स्थानीय भेडापालक कृषक नौसेर रावतका अनुसार गतवर्ष उपचार नपाएर १५ वटा भेडा, एक हल गोरु, गाई मरेका थिए । अन्य स्थानीय कृषकका लागि यसरी नै उपचार नपाएर पशुचौपायमा क्षति पुगेको थियो । उनले भने, स्थानीय स्तरमै पशुसेवा केन्द्र भएपछि सहज हुने अपेक्षा गरेका थियौँ । तर लामो समयदेखि पशुसेवा केन्द्र वन्द भएपछि हामी स्थानीय कृषक निकै समस्यामा परेका छौँ । छिटो कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्न माग गर्दछौँ ।
मालिकाठाटा र घोडेमहादेव क्षेत्र पालिकाको मुकामदेखि निकै टाढा भएको क्षेत्र हो । पालिकाको मुकाममा रहेको पशुसेवा शाखाबाट प्रवाह गर्न पहुँच नपुग्ने भएपछि स्थानीय स्तर तीन वडाको कार्यक्षेत्र रहेको जुम्लाकोटमा स्थापना भएको पशुसेवा केन्द्र लामो समयदेखि वन्द भएपछि सेवा प्रवाह समस्या भएको स्थानीय समेत रहेका अनेरास्वबियु जिल्ला सहसचिव बीनबहादुर रावतले बताए ।
तिला गाउँपालिका पशुसेवा शाखाकी प्रमुख सुपारीदेवि भट्टराईका अनुसार २०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भई गएका र सो पदमा अन्य कुनै पनि कर्मचारी नआई रिक्त भएकोले समस्या भएको हो । उनले भनिन् ०७६ पछि ०८० सालसम्म कार्यालय सहयोगी देविलाल बुढाले सेवा केन्द्र खोल्ने गरेका थिए । तर ०८० सालमा कार्यालय सहयोगी बुढाको पनि सेवानिवृत्त भएपछि कर्मचारी विहीन भयो । सेवा केन्द्र एक वर्षदेखि वन्द रहेको हो ।
उनका अनुसार उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवा मार्फत माग गरेका छौँ । तर अहिलेसम्म पदपुर्ति भएको छैन ।
करारमा कार्यालय सहयोगका लागि ०८० असोज ३० गते विज्ञापन गरी माग गरेपनि अहिलेसम्म गाउँपालिकाले पदपूर्ति गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार प्रक्रिया पुरा गरी फागुन महिनादेखि कार्यालय सहयोगी भर्ना गरी सेवा केन्द्र खुलाउने वातावरण मिलाउने छौँ ।