जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यहीँ भाद्र २३ गते ताेकिएकाे दीक्षान्त समाराेह अकस्मात् स्थगित भयाे । समाराेहकाे सम्पूर्ण तयारी पूरा भईसकेपछि भाद्र २२ गते मध्यरातमा समारोह स्थगित भएकाे सूचना बाहिरियाे ।
प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएपछि दीक्षान्त समाराेह राेकिएकाे थियाे ।
प्रतिष्ठानले पहिलाेपटक आयाेजना गर्न लागेकाे समाराेह छापामार शैलीमा राेकिएपछि त्यसकाे सामाजिक सञ्जाल देखि संसदसम्म चर्काे विराेध भयाे ।
खास गरि प्रधानमन्त्री ओली लक्षित विराेध सांसददेखि सर्वसाधारणसम्मले गरे । प्रतिनिधि सभाकाे साेमबार र मंगलबारकाे बैठकमा समाराेहबारे गम्भीर प्रश्न उठाए ।
साेमबार जुम्लाका सांसद तथा राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले त्यहाँ भएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्ने अभिव्यक्ति दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ओली शासनमा विद्यार्थीले दीक्षित हुनसमेत नपाएको व्यंग्य गरिन् । मंगलबारकाे प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र) सांसद देवेन्द्र पाैडेलले पनि दीक्षान्त समाराेहमा गएर ओली के गर्दै हुनुहुन्थ्यो भन्दै प्रश्न गरे ।
दीक्षान्त समाराेह राेकिएपछि खासगरी ओलीकाे हुकुमी शासन शैली, उनले कर्णालीप्रति हेर्ने दृष्टिकोण ? समाराेहका लागि भएकाे खर्च र दीक्षित हुन आएका विद्यार्थीहरूलाई त्यसबाट परेकाे मर्काका बारेमा प्रश्न तेर्सिएका छन् ।
चाैतर्फी आलाेचना र विराेध हुनुका साथै संसदमा बारम्बार प्रश्न उठ्न थालेपछि आयाेजक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओेलीकाे बचाउ गरेकाे छ ।
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले प्रधानमन्त्री ओलीकाे अस्वस्थताका कारण दीक्षान्त समाराेह स्थगित भएकाे जानकारी दिएकाे छ ।
महतले २२ गते राति प्रधानमन्त्री स्वंयमले फाेन गरेर अस्वस्थताका कारण उपस्थिति हुन नसक्ने बताएकाे जानकरी दिए । महतका अनुसार, ओली स्वास्थ्य समस्याका कारणले जुम्ला जान नसकेका हुन् ।
शनिबार राति ओलीलाई उच्च ज्वरो आएकाले जुम्ला नआएका हुन् । जुम्लाको हाइ अल्टिच्युड र हेलिकप्टरबाट लामो यात्रा गर्न स्वास्थ्यले साथ नदिएपछि ओलीले दीक्षान्त समारोह २८ कात्तिकमा गर्नेगरी स्थगित गरेका हुन् ।
दीक्षान्त समाराेहकाे तयारीमा कराेडाै खर्च भएकाे भनेर आएका हल्लाप्रति लक्षित गर्दै उनले भने,` बजारमा आएका सबै निराधार हुन् । ४/५ जनाकाे हवाई टिकट बाहेक अरु कुनै खर्च भएकाे छैन् । अन्य स्वाभाविक,नियमित खर्च भएका हुन् ।´
सञ्जालदेखि संसदसम्म प्रश्न गर्नेहरूले आधिकारिकता नबुझिकनै हचुवाकाे भरमा बाेलेकाे उनकाे भनाइ छ ।बाहिरी जिल्लाबाट दीक्षित हुन आएका विद्यार्थीहरूकाे भएकाेे खर्चप्रति प्रतिष्ठान दु:खी भएकाे बताए ।
एकाएक हुकुमी शैलीमा दीक्षान्त समाराेह राेक्न लगाए भन्दै ओलीकाे कर्णालीप्रति हेर्ने दृष्टिकोण ? राम्राे नभएकाे भन्ने प्रश्न प्रति लक्षित गर्दै महत भन्छन्,`उहाँ अस्वस्थ भएर नआउनु भएकाे हाे । ओेली प्रधानमन्त्री भएकाे बेला धेरै राम्रा काम भएका छन् ।´
अब दीक्षान्त समाराेह आगामी कात्तिक २८ गते हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएकाे छ ।
शुभाकर विश्वकर्मा । २५ भाद्र २०८१, मंगलवार १९:४९