जुम्ला : प्रेस सेन्टर नेपालले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सुत्केरी वार्डमा फलफूल वितरण गरेको छ।
नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले धर्म र समाजसेवाको भावनालाई प्रोत्साहन गर्दै बिरामी र उनीहरूका परिवारलाई राहत दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष मान बहादुर कुवँरका अनुसार समाजसेवामार्फत दिवस मनाउन पाउँदा उनीहरूलाई अपार खुसी मिलेको छ।
फलफूल वितरणका क्रममा टोलीले ९ जना बिरामीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याएको छ। कुवँरले समाजसेवा जस्तो कार्यलाई निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको र यस किसिमका गतिविधिले समुदायमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभाग इन्चार्ज गुन्जन रावलले पनि यो प्रयासलाई प्रशंसा गर्दै यसले बिरामीहरू र स्वास्थ्यकर्मीहरूको मनोबल बढाएको बताइन्।
उनले यस्तो खालको सहयोगले समाजमा आपसी सद्भाव, धर्म र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विश्वास व्यक्त गरिन्।
डिल्ली कामी । १५ माघ २०८१, मंगलवार ११:१५