जाजरकोटमा पहिराेमा परी एकै घरका तीनजनाकाे मृत्यु

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ ।

वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।

वडाअध्यक्ष खत्रीले भने, ‘माथिबाट आएको पहिरोले अस्थायी टहरा भत्काइदियो । दु:खद् घटना भयो ।’ ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।