गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागीहुन सूचना प्रकाशन गरेको थियो । सिंजाले तोकिएको मापदण्डमा रही काम गर्दा छनोटमा परेको हो । अध्यक्ष धितालले भन्नुभयो,“कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बिमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बीमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरी लगायत प्रकारका विपद्बाट क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति पाउने भएकाछन् ।” एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।
कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बिमा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । यसका लागि प्रदेश सरकारले यो वर्ष ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।