जुम्लाको तिला गाउँपालिका– ८ बालविवाह मुक्त

जुम्ला । जुम्लाको तिला गाउँपालिका– ८ बालविवाह मुक्त वडा घोषणा भएको छ । सरोकारवाला,निकाय, महिला बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बीच बिहीबार वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा सचिव खड्ग रावतले जानकारी दिनुभयो । स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

वडाध्यक्ष आसे बस्नेत अनुसार उमेर नपुगीहुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौँ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।तिला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख गैरी थापाका अनुसार बालविवाहलाई कानुनले अपराध मानेको छ । तर कताकता हाम्रो समाजमा अपराधका घटना भइरहेका छन् ।

त्यस वडामा बालविवाह न्यूनीकरण गर्नका लागी साझेदार संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले नेपाल र वल्र्डभिजन ईन्टरोश्नल लगायत गैरसरकारी संस्थाको सहयोगमा बालविवाह घोषणा गरिएको जानकारी दिनुभयो ।बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ ।

आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याइने गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ । बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । अब तिलाका –४ र ५ नं. वडालाई छिट्टै बालविवाह मुक्त वडा घोषणाको तयारीमा जुटेको तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।