जुम्लामा जलवायु परिवर्तनको असर : चराचुरुङ्गी र वन्यजन्तु बासस्थान छाड्दै

जुम्ला — तातोपानी गाउँपालिकाको टोप्ला गाउँ । बिहान सबेरै टोलको आँगनमा गुञ्जिने बसन्ते चरीको मधुर स्वर अहिले केवल सम्झनाको विषय बनेको छ । गाउँकै ७५ वर्षीया माया शाहीले अघिल्ला दिन सम्झिँदै भनिन,‘पहिला खेत जोत्न सुरु गर्ने बेला चरीको चिरबिर आवाजले गाउँ नै गुञ्जिन्थ्यो । बारीमा काम गर्न जाँदा चरीहरू टुप्लुक्क नजिकै बस्थे, त्यो रमाइलो वातावरणले खेतीपातीमा उर्जा मिल्थ्यो ।

अहिले गाउँ सुनसान छ,चराहरू हराएजस्तो लाग्छ । कहिलेकाहीँ सुन्ने आवाज पनि अब विगतको झल्को मात्रै हो ।’माया शाही मात्र होइन,जुम्लाका अधिकांश गाउँमा यस्तै अनुभूति भएको छ । स्थानीय बासिन्दाहरू भन्छन्, चरा र वन्यजन्तु दिनप्रतिदिन आफ्नो पुरानो आवास छाडेर अन्यत्र सर्दै गएका छन् । वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा लिएका छन् ।
तापक्रम वृद्धि र वर्षा चक्रमा अव्यवस्था
पछिल्ला दश वर्षमा जुम्लामा तापक्रम क्रमशः बढेको तथ्यांक देखिन्छ । स्थानीयले अनुभूत गरेको मौसमको असन्तुलन अझ गहिरो छ । खेती गर्ने किसानहरू भन्छन्,‘पानी ढिलो पर्छ, कहिले अचाक्ली असमय वर्षा हुन्छ, कहिले लामो खडेरी ।’

तातोपानी गाउँपालिका–४ का किसान धनबहादुर रावत भन्छन्,‘सयौं मौरीको गुन्जन हुने स्याउका बगैंचामा अहिले मौरी नै छैनन् । स्याउ फुल्दा पराग नबस्दा फलमा असर पर्छ, उत्पादन घट्छ । पहिले चरीहरूले पनि मौरीसँगै पराग बसाल्ने काम गर्थे । अहिले मौरी हराए । चरी हराए । अनि हामी किसानहरूको पसिना पनि खेर गइरहेको छ । यो केवल खेतीको समस्या मात्र होइन, हाम्रो जीवनयापन नै संकटमा परेको छ ।’
बासस्थान परिवर्तनमा बाध्य वन्यजन्तु
जुम्लाको लेकाली क्षेत्रमा पाइने कस्तुरी हरिण, हिमाली खरायो, भालु र थार जस्ता वन्यजन्तुहरू पनि पुराना बासस्थान छाडेर तलतिरको जंगलतर्फ झरेका छन् । घाँसेमैदान सुक्दै जानु, पानीका मुहान हराउनु र वन क्षेत्र फडानी बढ्नु उनीहरूलाई तल झर्न बाध्य बनाउने मुख्य कारण हुन् ।
तातोपानी–८ टोप्लाका ६० वर्षीय शेरबहादुर शाहीले भने,‘पहिला यी जनावरहरू हिमालतिर मात्रै देखिन्थे । अब त बारी वरिपरि घुम्छन् । कहिलेकाहीँ गाउँभित्रै पस्छन् । यसले डर पनि बढाएको छ । खेतमा मकै पाक्दा भालुले खाइदिन्छ, बाख्रा र भेडासँग द्वन्द्व हुन्छ । पहिले यो हाम्रो गाउँमा कल्पना नै गर्न नसकिने कुरा थियो ।’वन्यजन्तु तल झर्दा मानिससँगको प्रत्यक्ष द्वन्द्व बढिरहेको छ । गाउँमा राति पशु चौपायाको सुरक्षाका लागि स्थानीयलाई ठूलो समस्या भएको छ ।
जैविक विविधता संकटमा
डिभिजन वन कार्यालय जुम्लाले संकलन गरेको पछिल्ला तथ्यांकअनुसार, पाँच वर्षमै १० भन्दा बढी चरा र जनावर प्रजातिले आफ्नो आवास तलतिर सारेका छन् । यो क्रम जारी रह्यो भने जुम्लाको जैविक विविधता गम्भीर संकटमा पर्ने विज्ञहरूको चेतावनी छ ।

जुम्लाका वातावरणविद् गणेश बोहरा भन्छन्,‘चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान मात्र होइन, जलवायु परिवर्तनले मानिसको जीवनशैली नै बदलिरहेको छ । खेतीपातीदेखि स्वास्थ्यसम्म असर देखिएको छ । पहिला स्थानीय संकेतका आधारमा मौसम अनुमान हुन्थ्यो, अब त्यो प्रणाली नै काम गर्न छाडिसकेको छ । यदि हामीले तत्कालै संरक्षण र अनुकूलन उपाय अपनाएनौं भने जुम्ला मात्र होइन, सम्पूर्ण कर्णाली प्रदेश नै जैविक संकटको उच्च जोखिममा पर्छ ।’
गाउँपालिकाको चिन्ता र कदम
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पनि जलवायु परिवर्तनले ल्याएको संकटलाई स्वीकार गर्दै भने, ‘हाम्रो गाउँपालिका अर्गानिक खेतीमा भर पर्ने ठाउँ हो । तर, अहिले तापक्रम बढ्दा, पानी ढिलो पर्न थालेपछि अर्गानिक उत्पादनमा समेत असर परेको छ । जलवायु परिवर्तन अब केवल वातावरणको समस्या होइन, हाम्रो आर्थिक जीवनसँग प्रत्यक्ष जोडिएको छ । यसलाई रोक्न हामी सचेतनाका कार्यक्रम मात्र होइन, प्रत्यक्ष कार्य पनि गर्ने योजना बनाइरहेका छौं। स्थानीयलाई वातावरणमैत्री अभ्यासतर्फ प्रेरित गर्ने, वृक्षारोपण गर्ने, जलस्रोत संरक्षण गर्ने कामलाई प्राथमिकता दिइन्छ ।’

युवा र समुदायस्तरको पहल

जुम्लाको तातोपानी गाउँपालिकामा कार्यरत संस्था सेभ द चिल्ड्रेन र किर्डाक नेपाल द्वारा सञ्चालित सहयात्रा तेस्रो  परियोजनाले पछिल्ला वर्षहरूमा युवाहरुलाई जलवायु परिवर्तन सम्बन्धि सचेतनामा सक्रिय गराएको छ । परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले भने,‘हामीले विद्यालयस्तरमै बालबालिकालाई जलवायु परिवर्तनबारे कलास दिन थालेका छौं । गाउँस्तरमा युवालाई अभियान चलाउन अन्तरक्रिया दिइएको छ । हामीलाई थाहा छ, जलवायु परिवर्तन तत्काल रोक्न सकिँदैन, तर यसलाई कम गर्ने उपाय अपनाउन सक्छौं। युवाले नेतृत्व लिन सके भने भविष्य सुरक्षित बनाउन सकिन्छ ।’
वैज्ञानिकको चेतावनी
जलवायु विज्ञहरूको भनाइअनुसार, हिमाली क्षेत्रमा तापक्रम विश्व औसतभन्दा छिटो बढिरहेको छ । ग्लोबल वार्मिङका कारण हिमाल पग्लिँदै गएको छ भने त्यसको असर तल्लो क्षेत्रमा चरा–जनावरको बसाइ सराइमा प्रत्यक्ष देखिन्छ । नेपालमा मात्र होइन, सम्पूर्ण हिमालय क्षेत्रमा यो गम्भीर समस्या बनेको तथ्यांकले देखाउँछ ।

जुम्लामा अहिलेको परिस्थितिले स्पष्ट देखाउँछ—चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान परिवर्तन केवल प्राकृतिक चक्र होइन, जलवायु संकटको संकेत हो । यदि समयमै कदम चालिएन भने यहाँको प्राकृतिक सौन्दर्य हराउने मात्र होइन, स्याउ, आलु, जौ, गहुँजस्ता स्थानीय अन्नपातमा ठूलो असर पर्न सक्छ । ७५ वर्षीया माया शाही फेरि भावुक हुँदै भन्छिन्,‘हामी बूढापाकाले सुन्दर । भन्ने डर लाग्छ ।’