नेकपा (माओवादी केन्द्र), जुम्लाको सप्ताहव्यापी सुशासन सहजीकरण विशेष सप्ताह सम्पन्न

जुम्ला : नेकपा (माओवादी केन्द्र), जुम्लाले सुरु गरेको सप्ताहव्यापी सुशासन सहजीकरण विशेष सप्ताह सम्पन्न भएको छ । जिल्ला समितिले जनताका गुनासा सुन्ने, सुशासनको अवस्था बुझ्ने,उजुरी संकलन तथा सम्बोधन गर्ने उद्देश्यले सप्ताहव्यापी अभियान नै सञ्चालन गरिएको थियो ।

इन्चार्ज नरेश भण्डारीका अनुसार सुशासन सहजीकरण विशेष सप्ताह अन्तर्गत प्राप्त जनगुनासा, उजुरीहरू तथा समाधानका लागि गरिएका प्रयासहरूको सार्वजनिक गरिएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको उनले बताए । सुशासन सहजीकरण विशेष सप्ताह सफलतापूर्वक सम्पन्न भएको इन्चार्ज भण्डारीको भनाइ छ ।

सप्ताह अवधिभर जनतासँग प्रत्यक्ष संवाद, समस्या पहिचान तथा समाधानका लागि गरिएको प्रयासहरू मार्फत स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध थप बलियो बनाइएको छ।

प्रत्येक स्थानीय तहमा आयोजित समापन कार्यक्रममा नागरिक, पार्टी कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, युवा तथा विभिन्न पेशागत संगठनहरुको उल्लेखनीय सहभागिता रहेको थियो । समापन कार्यक्रममार्फत जनगुनासाहरूको संक्षिप्त विवरण, समाधानका प्रयासहरू, बाँकी रहेका चुनौतीहरू र आगामी कार्यदिशा बारे सार्वजनिक जानकारी दिइएको हो।