जुम्ला । शसस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाले आफ्नो ११औँ वार्षिकोत्सव सोमबार विभिन्न कार्यक्रमका साथ मनाएको छ। साविक कर्णाली क्षेत्रलाई समेट्नेगरी स्थापना भएको यो गणले स्थापना दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेको हो।
उत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने शसस्त्र प्रहरीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक तथा महेश्वरी बाहिनीका निमित्त बाहिनीपति विनोदराज श्रेष्ठले जुम्लामा शसस्त्र प्रहरीले उच्च पेशागत कौशलका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गरे।
“जनताको शान्ति–सुरक्षा, सीमा सुरक्षा, राहत तथा विपद् व्यवस्थापनमा शसस्त्र प्रहरीले छोटो समयमै उल्लेखनीय काम गरेको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठी देश र जनताको हितलाई शिरमा राखी काम गर्नु शसस्त्र प्रहरीको मुख्य जिम्मेवारी हो,” उनले भने। साथै, कुनै पनि अनुचित प्रभावमा नपरी संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न उनले निर्देशन पनि दिए।
उनले प्राकृतिक सम्भावनाले भरिपूर्ण जुम्ला विकासको गति लिँदै गएको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यताले यो जिल्ला ऐतिहासिक पहिचान बोकेको बताए।
गणपति निलकमल आचार्यले वार्षिकोत्सवमा सहभागी सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्दै सीमित स्रोत–साधनका बाबजुद शान्ति–सुरक्षा, सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए। “वार्षिकोत्सव मात्र एक कार्यक्रम होइन, कार्यक्षेत्रमा खटिएका सबै शसस्त्र प्रहरीलाई उत्साह प्रदान गर्ने माध्यम पनि हो,” उनले भने।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डिल्ली कामी । २७ श्रावण २०८२, सोमबार १३:४३