प्रतिष्ठानको गम्भीर लापरबाही : नेपालगन्ज लिदा आन्द्रा देखिएन,फेरि ल्याउँदा बिरामीको ज्यान गयो

जुम्ला ः शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्युु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको थियो । योगीको मृत्यु लगत्तै आफन्तहरुले शव बुझेनन् । बरु अस्पताल परिसरमा डाक्टरलाई कारबाहीको माग गर्दै नाराबाजी गरे । उपचारमा गम्भीर लापरबाही गरिएको भन्दै उनीहरुले शव नबुझ्ने र डाक्टरमाथि कारबाहीको माग गरेका थिए । मृतक योगीका आफन्तहरुको दाबी अनुसार योगीको उपचारमा प्रतिष्ठानले गम्भीर लापरबाही गरेको देखिएको छ ।

मृतक किशोरका बुवा जगतजंग योगी प्रतिष्ठानको गम्भीर लारपबाहीका कारण आफ्नो छोराको अकालमा ज्यान गएको दाबी गर्छन् । उनका अनुसार डिकेसनाथलाई सामान्य पेट दुखेपछि गत जेठ २५ गते प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । अस्पतालले इमर्जेन्सीमा सामान्य उपचार गरेपछि उनलाई त्यही दिन राति डिस्चार्ज गरेको थियो । उनलाई पेट दुख्ने समस्या निको नभएपछि भोलीपल्ट फेरि प्रतिष्ठान लगियो । दोस्रोपटक भने प्रतिष्ठानले उनलाई भर्ना गरेको जगतनाथ बताउँछन् । उनको पेटको भिडिओ एक्सरे गरियो ।

त्यसपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए। उनका अनुसार त्यही दिन एपेन्डिसाइटिसको अपरेसन भएको थियो । जेठ २७ गते चिकित्सकले पेटमा आन्द्रा बटारिएको छ, त्यसलाई सुधार गर्नुपर्छ भन्दै अर्को अपरेसन गरेको उनको दाबी छ । त्यति गर्दासमेत उनलाई निको नभएपछि अस्पतालले थप उपचारको लागि भन्दै बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज रेफर गरिदियो । उनी सुनाउँछन् ।‘नेपालगन्ज चेक गर्दा आन्द्रा नै नभएको रिपोर्ट आयो, त्यतिबेला नै आन्द्रा काटेर फालिएको रहेछ। हामीलाई जानकारी भएन, म रनभुल्लमा परे ।’, जगतनाथले भने।

नेपालगन्ज मेडिकल कलेजले १८ दिनसम्म उपचार भयो । त्यसपछि फेरि मेडिकल कलेजले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै पठाइदियो । उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार शनिबार विहान ४ बजे उनको निधन भएको थियो ।
प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुवी बस्न्यातले यस विषयमा जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासन, मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी दिइन्।