शैक्षिक मेला तातोपानी :- कालिका आ.वि हियाखोला प्रथम

प्रकाश वि क

जुम्ला । तातोपानी गाउँपालिका–६ हियाखोलामा अवस्थित कालिका आधारभूत विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन सहयात्रा तेस्रो परियोजनाको सहयोगमा र विद्यालयकै आयोजनामा सम्पन्न मेलामा शैक्षिक सामग्रीहरूको प्रदर्शन गरिएको थियो ।

तातोपानी गाउँपालिका वडा नं. ४, ५ र ६ का सात विद्यालय सहभागी बनेका मेलामा उत्कृष्ट प्रदर्शन गर्दै कालिका आधारभूत विद्यालय हियाखोला प्रथम भएको छ । त्यस्तै त्रिवेणी आधारभूत विद्यालय हाकु द्वितीय र भगवती आधारभूत विद्यालय धौलापानी तृतीय घोषित भएका छन् । अन्य विद्यालयहरूले पनि सराहनीय प्रदर्शन गरेका थिए ।

मेलाले सामुदायिक विद्यालयमा देखिएको खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै तातोपानी गाउँपालिका–६ का वडा अध्यक्ष बिशाल खड्काले विद्यालयको विकासका लागि पालिका निरन्तर लागिपरेको बताए ।

यस्तै कालिका आधारभूत विद्यालय हियाखोलाका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष डिल्ली कामीले सामुदायिक विद्यालयलाई नमुना बनाउन सबै निकायहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले गत वर्ष पालिकाको उत्कृष्ट विद्यालयको सम्मान पाएको विद्यालयले यस वर्ष शैक्षिक मेलामा पनि प्रथम स्थान हासिल गर्नु युवाको नेतृत्वको सफल उदाहरण भएको बताए ।

विद्यालयलाई अझै सबल र नमुना बनाउन निरन्तर प्रयासरत रहेको बताउँदै अध्यक्ष कामीले समुदायको साथ पाए शैक्षिक गुणस्तरलाई अझै उच्च बनाउन सकिने विश्वास व्यक्त गरे ।