रेशम अनुराग
राजनीतिक विचारधाराको बहसमा वामपन्थ र कम्युनिस्ट धारा सधैं जोडिएर आउँछन्। धेरैले यी दुईलाई एउटै भन्ने गल्ती गर्छन्, तर यथार्थमा वामपन्थ एउटा फराकिलो छाता हो भने कम्युनिस्ट त्यसमै अट्ने एक विशेष, कट्टर धारा हो। वामपन्थ भन्नाले समानता, सामाजिक न्याय, श्रमिक–किसानको अधिकार, राज्यको सक्रिय भूमिका र प्रगतिशील मूल्यलाई बुझिन्छ। यस छातामुनि समाजवादी, सामाजिक लोकतान्त्रिक, प्रगतिशील वा हरित धारहरू पनि अट्छन्। तर कम्युनिस्ट धार वामपन्थकै कट्टर रूप हो, जसले निजी सम्पत्तिको उन्मूलन, उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र अन्ततः वर्गविहीन समाज निर्माणलाई अन्तिम लक्ष्य मान्छ।
नेपालको राजनीतिक इतिहास वामपन्थी आन्दोलनबिनाको कल्पना गर्नै सकिन्न। २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादलाई आफ्नो विचार बनायो भने, कम्युनिस्ट आन्दोलनले २००६ सालमै संगठित रूप पायो। त्यसपछिका दशकहरूमा नेपालमा वामपन्थी धारा बलियो हुँदै गयो। आज पनि नेपालको प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै कम्युनिस्ट पृष्ठभूमिबाट आएका छन्। तर जसपा, समाजवादी पार्टी, लोसपा जस्ता दलहरू वामपन्थी हुन् तर कम्युनिस्ट होइनन्। यसरी दलगत परिप्रेक्ष्यले पनि वामपन्थ र कम्युनिस्टबीचको भिन्नता प्रष्ट देखिन्छ।
विशेष गरी नेकपा (माओवादी केन्द्र) नेपालमा वामपन्थी मात्र नभई कट्टर कम्युनिस्ट आन्दोलनको उदाहरण हो। माओवादीहरूले आफ्नो वैचारिक आधार मार्क्सवाद–लेनिनवाद–माओवाद मा टेके। उनीहरूको विश्वास थियो कि नेपालमा विद्यमान सामन्तवाद, राजतन्त्र र विदेशी हस्तक्षेप समाप्त नगरी वर्गीय मुक्ति सम्भव छैन। त्यसैले १९९६ मा उनीहरूले सशस्त्र विद्रोह सुरु गरे, जसलाई जनयुद्ध भनियो। एक दशक लामो संघर्षमा माओवादीहरूले हजारौं कार्यकर्ता गुमाए, हजारौं सर्वसाधारण प्रभावित भए, तर उनीहरूले राज्यसत्ता कब्जा गर्ने र “जनताको गणतन्त्र” स्थापना गर्ने लक्ष्यलाई निरन्तर अघि बढाए।
तर २००६ को जनआन्दोलनपछि नेपालमा नयाँ राजनीतिक समीकरण बने। राजतन्त्र समाप्त गर्ने र गणतन्त्र स्थापनाको साझा एजेन्डाले माओवादीहरूलाई अन्य दलहरूसँग वार्तामा ल्यायो। शान्ति सम्झौताले माओवादीलाई भूमिगत संघर्षबाट निकालेर खुला बहुदलीय राजनीतिमा ल्यायो। यस बिन्दुमा माओवादी पार्टीले आफ्नो कम्युनिस्ट विचारधारालाई व्यवहारिक रूपमा परिमार्जन गर्यो। वर्गविहीन समाज र सम्पूर्ण निजी सम्पत्ति उन्मूलनको कट्टर लक्ष्यलाई उनीहरूले अस्थायी रूपमा पछाडि सार्दै संविधानसभा मार्फत नयाँ संविधान लेखनमा भाग लिए।
संविधानसभामा माओवादी पार्टी प्रमुख शक्ति बनेर उदायो। यसले प्रमाणित गर्यो कि माओवादी विचारले नेपाली जनमानसमा गहिरो प्रभाव पारेको थियो। तर सत्तामा पुगेपछि माओवादीहरूलाई व्यवहारिक राजनीतिका चुनौतीहरूसँग जुध्नुपर्यो। उनीहरूले तत्कालै साम्यवाद स्थापना गर्न नसकिने, तर चरणबद्ध रूपमा समाजवादी बाटोमार्फत अघि बढ्नुपर्ने बुझे। यही कारण अहिले माओवादी पार्टी पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने, सरकार सञ्चालन गर्ने र अन्य वामपन्थी तथा गैर–वामपन्थी दलहरूसँग गठबन्धन गर्ने स्थितिमा पुगेको छ।
यो रूपान्तरणले एउटा महत्त्वपूर्ण निष्कर्ष दिन्छ: माओवादी जस्ता दलहरू विचारमा कट्टर कम्युनिस्ट भए पनि व्यवहारमा उनीहरूले वामपन्थी अन्य दलहरूसँग समान राजनीतिक खेलमैदान साझा गर्नुपरेको छ। जसपा वा समाजवादी पार्टी जस्ता गैर–कम्युनिस्ट वामपन्थी दलहरू लोकतान्त्रिक सुधारमार्फत सामाजिक न्याय खोज्छन् भने, माओवादीहरूले सुरुमा क्रान्ति रोजे, तर अन्ततः उनीहरू पनि लोकतान्त्रिक प्रक्रियामा अडिन बाध्य भए।
अन्तर्राष्ट्रिय सन्दर्भमा पनि यस्तै अवस्था देखिन्छ। सोभियत संघ वा चीनजस्ता देशहरूमा कम्युनिस्ट पार्टीहरूले सत्तामा पुग्दा सम्पत्ति उन्मूलन र वर्गविहीन समाजको प्रयोग गर्ने प्रयास गरे, तर समयसँगै चीनले पूँजीवादसँग मेल खाने “समाजवादी बजार अर्थतन्त्र” अपनायो। युरोपका समाजवादी वा लेबर पार्टीहरू भने वामपन्थी भए पनि कम्युनिस्ट होइनन्। यसले देखाउँछ— वामपन्थ र कम्युनिस्टबीच नजिकको सम्बन्ध भए पनि दुबै उही कुरा होइनन्।
यसरी, नेपालमा माओवादी पार्टीले देखाएको अनुभवबाट पनि स्पष्ट हुन्छ कि वामपन्थ एउटा फराकिलो छाता हो, जसमा विभिन्न धारहरू अट्छन्। माओवादीहरू वामपन्थकै कम्युनिस्ट धारा हुन्, जसले सशस्त्र विद्रोहदेखि संविधान निर्माणसम्मको यात्रा गरेको छ। तर जसपा वा समाजवादी पार्टी जस्ता दलहरू वामपन्थी भए पनि कम्युनिस्ट होइनन्। यसले पुष्टि गर्छ— कम्युनिस्ट वामपन्थी हुन्छन्, तर सबै वामपन्थी कम्युनिस्ट हुँदैनन्।

जुम्ला दर्पण । ८ भाद्र २०८२, आईतवार २१:४९