सार्वजनिक बिदामा पनि आयोग र अन्तर्गतका कार्यालय खुला रहने

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ ।

आयोगले बिहीवार एक प्रेस विज्ञप्ति निकालेर आउँदो मङ्सिर ४ गते आइतवारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाण्डौ, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहने जानकारी गराएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकाल्नुभएको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमितरूपमा सम्पादन गरी निर्धारित मितिमा नै चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन बिदाको समयमा कार्यालय खुला रहने उल्लेख गरिएको छ ।