कनकासुन्दरीमा`वडा सरकार´बाटै सामाजिक सुरक्षा भत्ता वितरण

जुम्ला : सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाले वडा तहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ। गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गरेकाे हाे ।

           सामाजिक  सुरक्षा भत्ता वितरण गरिदैँ

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे चाैथाे त्रैमासिक सामाजिक सुरक्षा रकम वितरण गरिएकाे गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिपेन्द्र उपाध्यायले बताए ।

बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको थियाे ।

उनका अनुसार गाउँपालिकाका आठवटै वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे हाे । कनकासुन्दरीमा साउन २ गतेदेखि ११ गतेसम्म वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे हाे ।

आठवटै वडाका लाभग्राहीको कुमारी बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको छ । भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पु¥याएर वितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले पालिकाकाे केन्द्रसम्म आउन नसक्ने लाभग्राहीहरूकाे समस्यालाई मध्यनजर गरेर वडा कार्यालयबाट वितरण गरिएकाे बताए । उनका अनुसार कनकासुन्दरी गाउँपालिकाले हरेक सेवामा सेवाग्राहीलाई प्राथमिकता दिने नीति लिएकाे छ ।

  वडामै पुगेर सामाजिक सुरक्षा भत्ता गर्दा  नागरिकलाई सहज भएकाे गाउँपालिकाकी  उपाध्यक्ष प्रेमकली बुढाकाे भनाइ छ ।
   ३३ सय जना  कनकाबासीले पाए भत्ता
कनकासुन्दरी गाउँपालिकाका करिब ३ हजार ३ सय जनाले आर्थिक वर्ष २०८०/०८१ काे चाैथाे त्रैमासिक सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।

अन्य जेष्ठ नागरिक भत्ता ,जेष्ठ नागरिक (एकल महिला),जेष्ठ नागरिक क्षेत्र,एकल महिला (आर्थिक सहायता),क वर्ग,ख वर्ग (आर्थिक सहायता) र क्षेत्र ताेकिएका बालबालिका शीर्षकमा कुल ३ हजार २ सय ९६ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् ।

तीमध्ये अन्य जेष्ठ नागरिक भत्ता शीर्षकमा ७ सय ४१ जना,४७ जना जेष्ठ नागरिक (एकल महिला) र ६ सय ४६ जनाले जेष्ठ नागरिक क्षेत्र शीर्षकमा भत्ता प्राप्त गरेकाे शाखा प्रमुख उपाध्यायले बताए ।

एकल महिला (आर्थिक सहायता)  शीर्षकमा १ सय ६१ जना,क वर्गका १३ जना र ख वर्ग (आर्थिक सहायता) शीर्षकमा ७५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

क्षेत्र ताेकिएका बालबालिका शीर्षकमा १ हजार ६ सय ११ जनाले भत्ता प्राप्त गरेका हुन् ।  कुल १ कराेड ८६ लाख ८४ हजार ८ सय ८८ रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे हाे ।

तीन हजार लाभग्राही,१४ सयले बुझे भत्ता
आठ वटै वडामा भत्ता पाउने लाभग्राहीकाे संख्या ३ हजार ६ सय ८० जना थियाे । तीमध्ये अभियानकाे क्रममा १ हजार ४ सय १८ जनाले वडामै उपस्थित भएर भत्ता बुझेका छन् ।


वडा नम्बर १ मा ३ सय ४ जना लाभग्राही रहेकाेमा १ सय ७२ जनाले भत्ता वितरण प्राप्त गरेका छन् । वडा नम्बर २ मा ३ सय ९२ मध्ये २ सय ९ जना, वडा नम्बर ३ मा ५ सय ५५ मध्ये १ सय ६८ जनाले प्राप्त गरेकाे प्रमुख उपाध्यायले बताए ।

वडा नम्बर ४ मा ३ सय ९४ जनामध्ये १ सय ७५, वडा नम्बर ५ मा ३ सय ७२ मध्ये १ सय २८ जनाले भत्ता पाएका हुन् ।

यसैगरी,वडा नम्बर ६ मा ३ सय १ मध्ये,१ सय ५९,वडा नम्बर ७ मा ४ सय ५९ मध्ये १ सय ६७ र वडा नम्बर ८ मा ५ सय १९  लाभग्राहीमध्ये २ सय ४० जनाले भत्ता प्राप्त गरेका हुन् ।