कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमा मनोनयन दर्ताको समय थप,वार्ता पनि

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिकाे ढाेका खुल्ला राख्दै निर्वाचन प्रक्रियातर्फ अग्रसर भएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरण गर्न सहमत नदेखिनु भएपछि पार्टीको नीति तथा नेतृत्व परिवर्तन निर्वाचनमार्फत गर्ने निष्कर्षमा विशेष महाधिवेशन पुगेको हो ।

रातभर विभिन्न चरणमा छलफल र वार्ता भए तापनि ठोस सहमति हुन नसकेपछि विशेष महाधिवेशनको निर्वाचन तालिका यथावत् राखी प्रक्रिया अगाडि बढाइएको विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले जानकारी गराउनुभयो ।
संस्थापन पक्षबाट अन्तिम समयसम्म संवादको प्रयास भइरहेको भए पनि त्यसलाई सम्मान गर्दै निर्वाचन प्रक्रिया निरन्तर अघि बढाइने उहाँको भनाइ छ । उहाँले भन्नू भयाे, “हाम्रो निर्वाचन तालिका यथावत् रहेको छ । उता वार्ताको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको छ । हामी त्यसलाई सम्मान गर्दछौँ । सहमति नभएमा कार्यक्रमअनुसार नै प्रक्रिया अगाडि बढ्छ ।”

पोखरेलले सहमति सम्भव नभए निर्वाचनमार्फत नेतृत्व चयन गरिने निर्णय सार्वजनिक हिजाे साझ गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइसक्नु भएको हाे । संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न सहमत नदेखिनु विशेष महाधिवेशन पक्षका लागि स्वीकार्य नरहेको धारणा प्रतिनिधिहरूको छ । सभापति देउवाले सक्रिय नेतृत्वबाट विश्राम लिई पार्टी र व्यक्तित्वसम्बन्धी लेखन तथा वैचारिक योगदानमा समय समर्पित गर्नु उपयुक्त हुने सुझाव कार्यकर्ताको छ ।
यसैबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन हिजाे साँझ सर्वसम्मत पारित भएसँगै बन्द सत्र औपचारिक रूपमा सम्पन्न भएको छ । मनोनयन दर्ताका लागि आज बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्म समय थप गरिएको अधिवक्ता सीताराम केसीले बताउनु भयाे । विशेष महाधिवेशन सहमति वा निर्वाचनमार्फत निष्कर्षमा पुग्ने निश्चित भएसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि निर्णायक चरणमा प्रवेश गरेको छ ।