कांग्रेस जुम्लामा भाडभैलो,घण्टैपिच्छे विज्ञप्ति,कुन आधिकारिक ?

विहीबार र शुक्रबारगरी नेपाल कांग्रेस जुम्लाको लेटर प्याडमा तीन फरक विज्ञप्ति सार्वजनिक भए । ती विज्ञप्ति कुन आधिकारिक भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । यो विवाद तत्काल साम्य हुने देखिदैन । बरु यो विवादले अझै ठूलो रुप लिन सक्ने सम्भावना देखिन्छ । नेतृत्व तहमा देखिएको विवादले कार्यकर्ता पंक्ति भने विभिन्न पक्षमा विभाजित देखिएका छन् ।

जुम्ला : जिल्लामा शुक्रबार तीन फरक राजनीतिक परिदृष्य देखिए । एक,नेकपा माओवादी केन्द्र र नेकपा एस जुम्लाले संयुक्त रुपमा संविधान दिवस मनाए । दोस्रो, नेकपा एमाले जुम्लाले संविधान दिवसको दिन एक्लै कार्यक्रम आयोजना ग¥यो । तेस्रो र महत्वपूर्ण चाँही, नेपाली कांग्रेस जुम्लाभित्रको आन्तरिक किचलो हो । यही किचलोका कारण कांग्रेसले दिवसको अवसरमा कुनैपनि औपचारिक कार्यक्रम आयोजना गरेन । बरु पार्टी सभापति र उपसभापति वक्तव्यबाजी मै व्यस्त देखिए । यसैपनि दुईजना जिल्लामा इतर गुटको नेतृत्व गर्छन् ।

कार्यकर्ता चाही आफ्ना गुटका नेताको प्रतिरक्षामा सामाजिक सञ्जालमा पोखिए । खासगरी बिहीबारदेखि कांग्रेसभित्रको किचलो सतहमा आएको हो । अहिलेसम्म त्यो विवादले भाडभैलोको रुप लिएको छ । विहीबार र शुक्रबारगरी नेपाल कांग्रेस जुम्लाको लेटर प्याडमा तीन फरक विज्ञप्ति सार्वजनिक भए । ती विज्ञप्ति कुन आधिकारिक भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । यो विवाद तत्काल साम्य हुने देखिदैन । बरु यो विवादले अझै ठूलो रुप लिन सक्ने सम्भावना देखिन्छ । नेतृत्व तहमा देखिएको विवादले कार्यकर्ता पंक्ति भने विभिन्न पक्षमा विभाजित देखिएका छन् । विवाद सार्वजनिक रुपमा प्रकट भइरहदा यसको पटापक्ष कसरी हुन्छ भन्ने प्रश्न उठेको छ ।
यसरी सतहमा आयो,कांग्रेसभिको किचलो ?
विहीबार दिउँसो नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाको लेटर प्याडमा एउटा ध्यानाकर्षण पत्र सार्वजनिक भयो । नाम उल्लेख नगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर सार्वजनिक गरिएको पत्रमा महत्वपूर्ण र पार्टी जीवनका लागि गम्भीर पाँच वटा विषय समावेश गरिएको छ । जसमा नेपाली कांग्रेसमा विशेष महाधिवेशन र महाधिवेशन माग गरिएको छ । विधानत नेपाली कांग्रेसको हालको केन्द्रिय कार्यसमितिको कार्यकाल २०८२ मंसिरसम्म मात्रै छ । नेपाली कांग्रेसको विधान अनुसार एक वर्ष महाधिवेशन सार्न सकिने अवस्था छ ।


कार्यबाहक उपसभापतिसहित आठ जनाले नेताहरुले तत्काल विशेष महाधिवेशन वा महाधिवेशन सम्पन्न गरी फागुन २१ गते तोकिएको निर्वाचनमा भाग लिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवार तोकेरै चुनावमा सरिक हुनुपर्ने माग गरेका हुन् । उनीहरुले घुमाउरो रुपमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नहुने संकेत गरेका छन् । यतिमात्रै होइन,‘राजनीतिक सन्यासको व्यवस्था’ शीर्षकमा पटकपटक पार्टीको पद र सार्वजनिक पद दुवै धारण गर्ने नेताले अब पार्टीको प्रत्यक्ष जिम्मेवारीबाट सन्यास लिएर अभिभावकीय जिम्मेवारीमा बस्नुपर्ने आवश्यकता देखिएको उल्लेख छ ।
यो प्रस्ताव केन्द्रीय पार्टी सभापति मात्रै नभएर जिल्लाकै नेतृत्व देखिन्छ । नेपाली कांग्रेस जुम्लामा दशकौसम्म पार्टी जिम्मेवारीमा रहेका नेताहरु धेरै छन् । एक पद एक व्यक्तिको सिद्धान्त लागू गर्न उनीहरुको माग छ । सार्वजनिक पदहरुको अवधि तोकिनुपर्ने,पार्टीमा आर्थिक पारदर्शिता तथा सुशासन कायम गरिनुपर्ने जनाइएको छ । आठ नेताले उल्लेख गरेका विषयहरु केन्द्रिय तहमा मात्रै नभएर जिल्लामा विद्यामान अवस्था र इतर पक्षसँगसमेत सम्बन्धित देखिन्छन् ।

उक्त ध्यानाकर्षण पत्रमा कार्यबाहक सभापति बुढासहित, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति ‐क) का कार्यबाहक सभापति तिलकप्रसाद न्यौपाने, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति ‐ख) का कार्यबाहक सभापति काली बहादुर बुढा, नेपाली कांग्रेस चन्दननाथ नगर कार्य समितिका सभापति रवि थापा,गुठीचौरका सभापति टेक बहादुर भण्डारी,हिमाका सभापति नर बहादुर शाही,पातारासीका सभापति गोरख बहादुर बोहोरा र तातोपानीका सभापति धन प्रसाद चौलागाईको हस्ताक्षर रहेको छ । यसमा पालिका सभापतिमध्ये कनकासुन्दरी,सिंजा र तिलाका सभापतिको हस्ताक्षर छैन ।


जेनजी आन्दोलनमा प्रदर्शनकारीद्धारा घरभित्रै आक्रमणमा परेर कुटपिट गरिएका सभापति देउवा र उनकी पत्नी आरजु राणाले सैनिक ब्यारेक शिवपुरीमा स्वास्थ्य लाभ गरिरहेका बेला आठभाईको विज्ञप्ति आएपछि कांग्रेस जुम्लाभित्र हलचल ल्यायो । लगत्तै इतर पक्षका नेता कार्यकर्ताहरुले उक्त पदको आधिकारिताको प्रश्नको प्रश्न उठाए । नेविसंघ जुम्लाको नेतृत्वमा रहेका एक नेताले जुम्ला दर्पण डटकमका प्रतिनिधिलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत आफूले लेखेको स्ट्याटसका आधारमा आठभाईको पत्र आधिकारिक नभएको भनी लेखिदैन आग्रह गरेका थिए । उक्त विज्ञप्ति सामाजिक सञ्जालमा एकप्रकारले भाइरल नै बनाइयो । दुवैपक्षले आआफ्नै किसिमका तर्क वितर्क गरेका छन् ।

 पार्टीको लेडर प्याड प्रयोग गर्दै जुम्लामा नरहेका सभापतिको दाबी : निजहरुको व्यक्तिगत धारणा हो ?

आठभाईले नेपाली काँग्रेस जुम्लाको लेटरप्याडमा बिहीबार सार्वजनिक गरेको ध्यानाकर्षण पत्रलाई शुक्रबार दिउँसो विज्ञप्तिमार्फत जिल्ला सभापति कर्ण बहादुर शाहीले केही साथीहरुको व्यक्तिगत धारणा मात्रै भएको र पार्टीको आधारिक धारणा नभएको घोषणा गरे ।

पार्टीकै लेटर प्याडमा सभापति शाहीको दस्तखतसहित स्पष्ट पारिएको भन्नेबारे भनेर सार्वजनिक पत्रमॉ २०८२ असोज २ गतेका दिन नेपाली कांग्रेसको लेटर प्याडमा केही साथीहरुले नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा ध्यानाकर्षण भएको भनी लेखेको पत्रको व्यहोरा नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको संस्थागत र आधिकारिक धारणा नभई निजहरुको व्यक्तिगत धारणा नभएको स्पष्ट गर्न चाहन्छु’ भन्ने उल्लेख गरिएको छ ।

आठभाईका नेता बुढा भन्छन्,‘हाम्रो धारणा पार्टीको आधिकारिक हो’
शाहीले विज्ञप्ति जारी गरेको केही घण्टामै नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाको लेटर प्याडमा कार्यबाहक सभापति कार्मा बुढाले भनेका छन्,‘जिल्ला सभापति ज्यू जुम्ला जिल्ला नआउनु भएको महिनौ भइसक्यो र उपसभापति दीपक बहादुर शाही ज्यू पनि जुम्लामा नहुनु भएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’


उनले कांग्रेसको विधान २०१७‐संशोधनसहित) दफा १२ को उपदफा ७ मा जिल्ला कार्य समितिको सभापतिको काम,कर्तव्य र अधिकारको ट बमोजिम जिल्ला सभापति बाहिर जाँदा जिल्लालाई नेतृत्वविहीन बनाएर जाने अधिकार नभएको दाबी गरेका छन् । पार्टी सभापति जहाँ त्यही पार्टी कार्यालय खोल्ने अधिकारपनि नभएकोले उहाँको अनुपस्थितिमा म कार्यबाहक हुन्छु की हुन्न न्याय संगत बुझ्ने अधिकार हजुरलाई दिए भन्दै बुढाले प्रश्न गरेका छन् ।
‘हिजो ध्यानाकर्षण गरेको हाम्रो समग्र जिल्लाका नेपाली कांग्रेसजनहरुको भावनालाई समेट्दै नेपाली कांग्रेस जुम्लाको आधिकारिक धारणा भएको अनुरोध छ,’ बुढाले भनेका छन् । यस्तै सभापति कर्ण बहादुर शाहीलाई विषय परिस्थितिमा जिल्लामा आएर आफ्नो धारणा राख्न चुनौती दिएका छन् । पार्टीको आधिकारिक लेटर प्याडमा सभापति र उपसभापतिबीच दोहोरी चलेपछि सार्वजनिक पत्रको आधिकारिकताको सवाल गम्भीर रुपमा उठेको छ ।