कर्णालीका मुख्यमन्त्री शाहीलाई जुम्लाका सांसद नरेश भण्डारीको पत्र

जुम्ला : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिञ्जा क्षेत्रको भ्रमणको विषयलाई लिएर कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले पत्र लेखेका छन् । मुख्यमन्त्री शाहीको नाममा पत्र लेख्दै सांसद भण्डारीले प्रश्न, आक्रोश र व्यंग्य प्रहार गरेका छन् ।

पत्रमा उनले सिञ्जामा भ्रमण हुन लागेको कुराले आफू खुसी भएको भन्दै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेको उल्लेख गरेका छन् ।

यस्तै उनले सिंजा गाउँपालिका १ मा प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न कर्णाली प्रदेश सरकारको क्याविनेटबाट भएको निर्णय कार्यान्वयन नभएको भन्दै गुनासो पोखेका छन् ।

सो पत्रमार्फत कनकासुन्दरी गाउँपालिकाको खिच्चने मा विशेष आर्थिक क्षेत्र स्थापनार्थ संघीय सरकारबाट निर्णय भएको र आंशिक कार्यान्वयन पनि भएको अवगत गराउँदै सोही स्थानमा त्यही स्थानमा कर्मचारी प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको भन्दै उनले अर्को स्थानमा सार्नसमेत माग गरेका हुन् ।

यस्तो छ, सांसद भण्डारीले मुख्यमन्त्री शाहीलाई लेखेको पत्र

माननीय मुख्यमन्त्री ज्यु,
नमस्कार 
आज तपाई जुम्ला जिल्लास्थित नेपाली भाषाको उद्गम स्थल अर्थात् खस सभ्यताको केन्द्र ऐतिहाँसिक सिंजा उपत्यकाको राजकीय भ्रमणमा हुनुहुन्छ भन्ने खबरले खुसी नै तुल्याएको छ । तर केही प्रश्नहरु मस्तिष्कमा नाचिरहेका छन् । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेका छन् । तपाई स्वयं सरकार प्रमुखले त्यही भूमिमा पाइला टेकेकाले ती महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ दिनु हुनेछ भन्नेमा बिश्वस्त छुँ। सिंजा गाउँपालिका १ मा प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न कर्णाली प्रदेश सरकारको क्याविनेटबाट भएको निर्णय कार्यान्वयन नभएकोमा जनताले गुनासो गरिरहेका छन् । जनगुनासो निवारण हुनेमा आशावादी छुँ । कनकासुन्दरी गापाको खिच्चने मा विशेष आर्थिक क्षेत्र स्थापनार्थ संघीय सरकारबाट निर्णय भएको र आंशिक कार्यान्वयन पनि भएको जानकारी गराउदछुँ । यद्यपी कार्यान्वयनको गति धिमा छ । त्यही स्थानमा कर्मचारी प्रशिक्षण केन्द्र स्थापना गर्न तपाई स्थलगत अवलोकन गर्दै हुनु हुन्छ भन्ने सुन्नमा आएको छ । २ महिना अगाडि मात्रै पारित प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा उल्लेख नभएको र निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा प्रशिक्षण केन्द्र स्थापना कसरी हुन सक्ला ? प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने अर्को नयाँ स्थान चयन गर्दा उपयुक्त होला कि ?
मुख्यमन्त्री ज्यु, तपाइको यो कार्य गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो भएन ?
२४ भाद्र २०७९

 तपाइको उही
नरेश भण्डारी