सिंजा गाउँपालिकाद्वारा विष्टवाडामा प्रसुति गृह स्थापना

जुम्ला  : जुम्लाको सिंजा गाउँपालिकाले वडा नम्बर २स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुति गृह स्थापना गरेको छ । संविधान दिवसको अवसरमा प्रसुति गृह स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । पालिकाको आवश्यकताका आधारमा थप सेवा विस्तार गर्न र यहाँका महिलाको स्वास्थ्य सेवामा सबैको सहज पहुँच गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको अध्यक्ष धितालले बताए ।

छिट्टै ल्याव सेवा विस्तारका लागि स्वास्थ्य शाखा लागि परेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललितजंग रोकायाले जानकारी दिए । आवश्यक दक्ष जनशक्तिका लागि विज्ञापन गरेका छौं । यसअघि त्यो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले प्रसुति सेवा तथा एएनसी पीएनसी चेकजाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्य चौकीमा आउनुपर्ने बाध्यता थियो । यो बाध्यताबाट यहाँका महिला तथा अन्य नागरिकले अब छुटाकारा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रसुति गृहका लागि आवश्यक दक्ष जनशक्ति एसबिए तालिम प्राप्त दक्ष जनशक्ति एक जना, अहेव दुई जना, अनमी दुई जना र सहयोगी एक जना गरी अहिले ६ जना जनशक्तिको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । जनस्वास्थ्य कार्यालय जुम्लाको अनुगमन टोलीले त्यो क्षेत्रमा प्रसुति गृहको उपयुक्त ठानेपछि स्थापना गरिएको हो ।

 

सिंजा गाउँपालिकाको धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट अहिले पालिकाले प्रसुति सेवा प्रदान गर्दै आएको छ । घरमा सुत्केरी नहुने र स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि यो गाउँपालिका भित्र पाँच ठाउँबाट प्रसुति सेवा प्रदान गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।