काठमाडौं। मातृभाषा साहित्यको प्रवर्द्धन र विकासका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको मातृभाषी पत्रिकाको शृङ्खलामा अब खस भाषाको साहित्यिक पत्रिका ‘प्रज्ञा खसान’ पनि प्रकाशन हुने भएको छ। ‘प्रज्ञा खसान’ प्रकाशन गर्ने निर्णय यही माघ २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागद्वारा गरिएको हो। विभाग प्रमुख तथा प्राज्ञ परिषद् सदस्य राजन मुकारुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

पत्रिकाको प्रधान सम्पादक राजन मुकारुङ, कार्यकारी सम्पादक जगत वाशिष्ठ रहेका छन् । त्यसैगरी सम्पादक मण्डलमा डा. ओमप्रकाश आचार्य, नगेन्द्रप्रसाद आचार्य, रणबहादुर रावत र पार्वती चौलागाईं रहेका छन् । ‘प्रज्ञा खसान’को सल्लाहकार मण्डलमा खसिया आखरका कोशकार रमानन्द आचार्य, पत्रकार तथा साहित्यकार प्रेम कैदी, र भाषा आयोगका पूर्व कार्यवाहक अध्यक्ष तथा साहित्यकार उषा हमाल रहेका छन् ।
कर्णाली क्षेत्रका खस भाषामा साहित्य, कला र संस्कृतिका विविध विधामा कलम चलाउँदै आउनुभएको स्रष्टाहरूलाई खस भाषामै रचना सिर्जना गरी खस भाषा–साहित्यको संरक्षण र प्रवर्द्धन अभियानमा सहभागी हुन कार्यकारी सम्पादक जगत वाशिष्ठले अनुरोध गरेका छन् । उनी हाल गोरखापत्रको नयाँ नेपाल खस भाषा पृष्ठको संयोजन पनि गर्दै आएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागले यसअघि थारू, किराँती, राई, नेवारी, अवधीलगायत झन्डै एक दर्जनभन्दा बढी मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशन गरिसकेको छ। साथै, मातृभाषाको प्रवर्द्धनका लागि विभागले हरेक महिना प्राज्ञिक बहस कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

जुम्ला दर्पण । २४ माघ २०८२, शुक्रबार २०:५६