जुम्ला ।सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ ।
सहकारी विषेशगरी माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलालाई आर्थिक स्रोतको वृद्धिदेखि उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिममा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए ।
हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बगमति प्रदेशका ३८ जिल्लामा सेवा केन्द्र विस्तारका लागि स्वीकृति पाएको सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिए ।
सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमलाई धन्यवाद दिँदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
संस्थाको आर्थिक गतिविधि संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै चन्दननाथ सहकारीले रु एक अर्ब ५८ करोड आठ लाख ७२ हजार छ सय कर्जा प्रवाह गरेको बताए । कर्जा असूली एक अर्ब २६ करोड ४६ लाख आठ सय ९२ रहेको र सहकारीका हालको आम्दानी रु नौ करोड ६५ लाख एक हजार छ सय ८७ रहेको उनको भनाइ छ । उनका अनुसार सहकारीको खुद नाफा एक करोड पाँच लाख ४० हजार तीन सय २४ छ ।
सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताए । “शेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ”, उनले भने, “यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।”
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए।पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताए । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताए । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरी सहकारीले आफ्नो १२औँ साधारणसभा सम्पन्न गरेको छ ।
जुम्ला दर्पण । ७ पुष २०७९, बिहीबार १५:३६