पूर्वराजाको जुम्ला यात्राबारे माधव चौलागाईको विश्लेषण

भोली बैशाख १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर दर्शन गर्ने र समर्थकको अभिनन्दन लिने भ्रमण गर्दैछन्। कुनैपनि संस्कृति सामाजिक आस्थामा आवद्ध जोसुकैले पनि यस्तो यात्रा गर्ने, आतिथ्य लिनेरदिने गर्न सक्छ।

कुनै ठूला लामा, साधु, योगी, मौलाना, पाष्टर, हजुर बाहरु नेपालभर यसरी नै यात्रा गरिरहेका हुन्छन् । फलोअर्सले सक्दो विशिष्ट सम्मान दिन्छन् । त्यस अर्थमा पूर्व राजाको जुम्ला भ्रमण सफल रहोस्


तर, यसको राजनीतिक रंग र जुम्ला सम्बन्ध रोचक र रहस्यमय छ। विशेषगरी सांसद ज्ञानेन्द्र शाहीले “श्री ५ महाराधिराज”को राजकीय भ्रमण भनेर राप्रपाको एजेण्डा बोलेका छन् भने स्थानीय चाँजोपॅजोमा खट्नेहरु प्रायः पंचायत पृष्ठभूमि वा विरासत भएका कांग्रेसजन छन्।

जुम्लाको हितको निम्ति काठमाण्डौको सत्तासँग विन्तिभाउ गरेर हैन आँखामा आँखा जुधाएर इतिहासदेखिकै क्षेत्रिय विभेद र अविकासको हिसाबकिताब गर्न सक्ने प्रखर सांसद छान्यौं भनेर मख्ख जुम्लिहरु माझ विकास भन्दा पहिला ‘राजतन्त्र’ सवारी भएको छ।

शाहवंशीय युगमा जुम्लाले दमन र सीमान्तिकरण बाहेक केहि भेटेन। १८४६ देखि २०४६ सम्मको २०० बर्षको अबधिमा विशाल जुम्ला क्षेत्रमा खटिने “गोर्खाली” सेना र प्रशासकको नियन्त्रणमार्फत अलग र संकुनचन मात्र भयो। मानवीय पूँजी निर्माणमा कुनै लगानी निगाह बक्स भएन। त्यसैको परिणाम त हो अन्य ठाउँहरु प्रगति पथमा दौडदै गर्दा हामी बल्लतल्ल घिस्रिंदै छौं।

सोसल प्लेटफर्मले निर्माण गरेको अल्ट्रा पपुलिजमको प्रत्यक्ष प्रभावलाई दीर्घकालीन बनाउने अस्त्र सदन र जनचासोका विषय सम्बोधनमा दैखिनुपर्छ न कि मिति गुज्रेको विरासत बोकेर। यतिबेला केन्द्रिय सत्ताले धमाधम योजना बनाईरहँदा हाम्रा सबै प्रतिनिधिहरु जयजयकारमा छन्। अनि, आफूलाई प्रजातन्त्र र गणतन्त्रका हिमायति जुम्ली नेता कार्यकर्ता भने अनुशासित दर्शक बनेर शोभा बढाउने छन् ।

साभार : चौलागाईको फेसबुक