जुम्लामा लागूऔषधसहित तीन जना पक्राउ

जुम्ला : जुम्लामा लागूऔषधसहित तीन जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले दुई जना सेवनकर्ता र एक जना कारोबारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकायको टोलीले उनीहरुले असार ६ गते पक्राउ गरेको थियो ।

प्रहरी सहायक निरीक्षक रोकायका अनुसारका पक्राउ पर्नेमा तिला गाउँपालिका वडा नम्बर २ घर भई हाल चन्दननाथ नगपालिका वडा नम्बर ४ भारतीवाडा कोठा भाडा लिई बस्ने २६ वर्षीय प्रकाश बोहरा, कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय खुम बहादुर रावत रहेका छन् ।

उनले दुवै जनामाथि शंङ्का लागि चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी पक्राउ गरेको बताए । दुवै जनालाई रीतपूर्वक खानतलासी गर्दा शुद्ध तौल ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ ।

उनीहरुको बयानको आधारमा चन्दननाथ नगपरपालिका वडा नम्बर ५ का २२ वर्षीय मनोज सुनारलाई पनि पक्राउ गरिएको छ । बोहोरा र रावतले आफूहरुले सुनारबाट ब्राउन सुगर किनेको बयान दिएका थिए । सुनार कालेखोलीमा सुनचाँदीको व्यवसाय गर्दै आएका छन् । तीनै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।