गुठीचाैरका किसानलाई आलु चिप्स बनाउने तालिम

जुम्ला :  गुठीचौर गाउँपालिकाले आलु उत्पादक किसानलाई नै आलु चिप्स उत्पादन गर्ने तालिम दिइएको छ । गाउँमा २० जना किसानलाई आलु चिप्स बनाउने तालिम दिइएको हो । आलु चिप्स उत्पादन गरी आम्दानी गर्न सकुन् भनि किसानलाई तालिम प्रदान गरिएको हो ।

गाउँपालिकाले गरिबी निवरणका लागि लघु उद्यम विकास मेडपा कार्यक्रम  मार्फत गाउँपालिकाको वडानं २ गुठीगाँउका २० जना किसानलाई गाउँमै तालिम प्रदान गरेको छ । गाउँपालिका मेड्पा कार्यक्रमको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा चिप्स बनाउने, प्याकिङ गर्ने तथा बजारसम्म लैजाने प्रशिक्षण दिइएको छ । गुठीचौर गाउँपालिका आलु उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित छ ।

हिमाली भूभाग समेत समेटिएको सो गाउँपालिकामा गुणस्तरी, स्वास्थ्यवर्धक अर्गानिक लेकाली आलु उत्पादन हुने गरेको छ ।
तालिमले किसानलाई अफ्नै उत्पादनबाट उद्योग सञ्चालनमा सहयोग पुग्ने गुठीचौर-२ का वडाध्यक्ष दिप वहादुर ऐडीले बताए । आलु पकेट भएको क्षेत्रमा आलु चिप्स बनाउने तालिमले किसानलाई थप व्यवसायिक बनाउने वडाध्यक्ष ऐडीको भनाइ छ ।

किसानले आलु चिप्स बनाउने उद्योग स्थापना गरे अर्गानिक र लेकाली आलु चिप्सको बजार पनि राम्रो भएको उनले बताए । उद्योग स्थापना गर्ने गरी व्यवसाय सुरु गरे त्यस्ता उद्यमी किसानलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग गर्ने वडाध्यक्ष ऐडी बताए ।

पुस्तौदेखि परम्परागत रुपमा आलु उत्पादन हुँदै आएको गुठीगाँउमा आलु खेतीको व्यवसायिकीकरणको लागि समुह बनाएर आलु चिप्सको उद्योग सञ्चालनमा ल्याउन वडाध्यक्ष ऐडीले बताए । समुहगत रुपमा वडामा आए सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाए।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्बराज गिरीले  तालिम जीवनउपयोगी हुने बताए । उनले गाउँपालिकाबाट सक्ने सहयोग रहने बताएका छन् । सीप नै धन भएको र सिपलाइ, आर्थिक समृद्धिमा जोडदिन उनले आग्रह गरे ।

पाँच दिन सम्मको तालिम मुख्य प्रशिक्षक होटेल व्यवसायी चित्र बहादुर बुढा रहेका छन् । कृषि पेसामा कुनै पनि प्राबिधिक ज्ञान नभएरै कृषि पेसामा जोडिदा सोचेको उपलब्धि हासिल गर्न नसकिने प्रशिक्षक बुढाले बताए ।
सबैभन्दा ठुलो विकास सीप नै हुने प्रशिक्षक बुढाले दाबी गरे ।
तालिम उपलब्धीमूलक कृषि कर्म गर्न प्रोत्साहन गर्ने तालिममा भएको सहभागी मनकी बाेहोराले बताइन् ।
यहाँ उत्पादन हुने आलु स्थानीय बजार नहुदा बजारमा समेत पुग्न समस्या हुने गरेको उनले बताइन् ।

विगतमा भन्दा अहिले आलु खेतीको नामले समेत गुठीगाँउ परिचित भएको बाेहोराले बताइन् । आलुको बजारीकरण कसरी गर्ने भन्ने ज्ञान तालिमबाट प्राप्त भएको भन्दै ले खुसी व्यक्त गरिन् ।

गुठीचौर २ गुठिगाँउ क्षेत्र गुणस्तरीय आलु उत्पादन हुने क्षेत्र भएको तालिममा सहभागी स्थानीय मैमी ऐडीले बताइन् । विगतमा सडकको पहुँच नपुगेको कारण उत्पादित आलु बजारसम्म पुर्याउन समेत समस्या थियो ।

तर अहिले गाउँसम्म सडक पुगेपछि ती क्षेत्रमा उत्पादित आलु बजारसम्म पुग्न लागेका छन् । गाउँमा नै आलु प्रशोधन गर्ने उद्योग खुले किसानले थप लाभ लिने देखिएको छ ।